२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार

महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार


आजकाल धेरै महिलाको साझा समस्या पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउने गर्दछ ।यसको सही उपचार नभएमा विस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो ।

तर, पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ । यस्तोमा तल्लो पेटको दुखाइले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षणअनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।

कतिबेला पेट दुखाइ असामान्य हुन्छ ?

– महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु,
– महिनावारी भइसकेपछि झन धेरै दुख्ने,
– महिनावारीमा ढिका—ढिका रगत जाने,
– सात दिनपछिसम्म रगत बग्नु ।

लक्षण

कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको क्षयरोग हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाइ बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ ।

यस्तो दुखाइ हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पदार्थ बग्नेसमेत हुन्छ ।

रोगको पहिचान हुन नसक्नुले पनि बिरामीलाई सही उपचार पाउँदैन । यो समस्या अल्ट्रा साउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाइ हुने हुन्छ ।

कारण

महिनावारी भएको बेला योनीबाहिर रगत आउनुपर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बासयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ । महिनावारी हुँदा बाहिर बग्नुपर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ । जो पछि टाँसिएर कसिदै जान्छ ।

जो लामो समय हलचल नहुँदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ ।

उपचार

तल्लो पेट दुखाइको उपचार गर्नुअघि तल्लो पेट दुखाइको कारण बुझ्नुपर्ने हुन्छ । यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्री बुझेर मात्र उपचार थाल्दछन् । यदि हिस्ट्रीबाट पनि दुखाइको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाँच गर्दछन् ।

यदि डिम्बासयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बासय पनि निकाल्नुपर्ने हुन्छ । त्यसैले तल्लो पेटको दुखाइलाई सामान्य नमानी दुखाइ सुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ