२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो डायबिटिज ? यस्ता छन् डाइबिटिज हुने कारण

के हो डायबिटिज ? यस्ता छन् डाइबिटिज हुने कारण


डायबिटिज (मधुमेह)लाई चिनी रोग पनि भनिन्छ । प्यानक्रियाज ग्रन्थीले शरीरमा आवश्यक मात्रामा इन्सुलीन हर्मोन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलीनलाई प्रयोग गर्न नसक्दा डायबिटिज हुन्छ । रगतमा सुगरको मात्रा बढ्नु नै डायबिटिजको मुख्य कारण हो ।

अव्यवस्थित खानपान र निष्क्रिय जीवनशैलीका कारण रगतमा सुगरको मात्रा बढ्छ । डायबिटिज भएकाहरुले स्वास्थ्यमा ध्यान दिन नसके मुटु, किड्नीलगायत शरीरका अन्य अंगमा समेत असर गर्छ ।

डायबिटिज धेरै प्रकारका हुन्छन् । तर, अधिकांश मानिसमा देखिने भनेको टाइप वान र टाइप टु डायबिटिज हो । शरीरमा इन्सुलीन हर्मोनको कमी भएमा त्यसलाई टाइप वान डायबिटिज भनिन्छ । यो डायबिटिज भएकाहरुको शरीरमा बाहिरबाट इन्सुलीन दिनुपर्ने हुन्छ ।

टाइप टु डायबिटिजमा शरीरमा केही मात्रामा इन्सुलीन उत्पादन हुन्छ तर शरीरले त्यसको प्रयोग गर्न भने सक्दैन् । टाइप वानको डायबिटिजमा इन्सुलीन नै उत्पादन हुँदैन भने टाइप टुमा इन्सुलीन उत्पादन भएपनि शरीरले त्यसको प्रयोग गर्न सक्दैन । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ । इन्सुलीनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

डायबिटिज मानिस आफैंले निम्त्याएको रोग हो । शहरीकरणसँगै बदलिएको हाम्रो अस्वस्थकर जीवनशैलीका कारण डायबिटिजको जोखिम बढ्दै गएको छ । शरीरको आवश्यकताभन्दा बढी क्यालोरी दिने खाना खाँदा पनि डायबिटिजको जोखिम बढी हुन्छ । ४५ वर्ष माथिका मानिसहरु, मोटोपना, कोलस्ट्रोल, मुटुको समस्या भएकाहरु तथा परिवारका अन्य सदस्यलाई डायबिटिज भएमा पनि डायबिटिजको बढी जोखिम हुन्छ ।

विलासितापूर्ण जीवनशैली जिउने, शारीरिक व्यायाम नगर्ने, मानसिक चिन्ता लिने, आवश्यकताअनुसार नसुत्ने व्यक्तिहरुलाई डायबिटिज हुने धेरै सम्भावना हुन्छ । पछिल्ला केहि अध्ययनहरुले जंक फुड, एक्लोपना, वायु प्रदुषण, होहल्ला, विभिन्न केमिकलयुक्त खानाको उपभोग जस्ता कुराले पनि हर्मोनमा गडबडी भएर डायबिटिज हुने देखाएका छन् ।

अन्य रोगहरुमा जस्तो डायबिटिजको असर र लक्षण सबैमा एकनासको हुँदैन । कसैमा डायबिटिजका कारण हुने अन्य रोगको पहिचान भएपछि मात्र डायबिटिजको लक्षण देखिन पनि सक्छ । अस्वभाविक रुपमा भोक लाग्ने, तौल घटबढ हुने, काटेको घाउ लामो समयसम्म निको नहुने, मुख सुक्ने, सुत्ने बेलामा र रातको समयमा बढी पिसाब लाग्ने जस्ता लक्षण देखिएमा डायबिटिज भएको हुनसक्छ । यद्यपी सबै मानिसमा सबै लक्षण देखिँदैन । कतिपयमा लक्षण नदेखिएरै पनि डायबिटिज हुन सक्छ ।

विषेशतः डायबिटिज व्यक्तिको अव्यवस्थित जीवनशैलीका कारण हुने भएकाले सबैभन्दा पहिले जीवनशैलीमा सुधार गर्नुपर्छ । डायबिटिज भएकाहरुले ‘हेल्दी डाइट’ खानुपर्छ । त्यो भनेको कार्बोहाइड्रेट कम भएको तथा प्रोटिन र फाइबर बढी भएको खानेकुरा हो । जति छिटो डायबिटिजलाई नियन्त्रणमा ल्याउन सक्यो पछि गएर त्यति नै छिटो औषधिको मात्रा घटाउन सकिन्छ ।

डायबिटिज भएकाहरुले चिनी खानै हुँदैन भनिन्छ । तर आवश्यकताअनुसार थोरै मात्रामा चिनी खान सकिन्छ । यद्यपि डायबिटिज भएकाहरुले चिनी नखाने हो भने यसलाई धेरै छिटो नियन्त्रण गर्न सकिन्छ । त्यसैले डायबिटिज भएकाहरुले चिनी र चिनीबाट बनेका परिकार नखानु नै उपयुक्त हुन्छ ।

जंकफुड, प्लास्टिक र टिनमा राखिएका अचार, तेल र बोसोजन्य खानेकुरा खानुहुँदैन । धूम्रपान र मदिरापान पनि डायबिटिज भएकाहरुका लागि घातक साबित हुनसक्छ । तौल बढ्न नदिन नियमित हल्का खालको व्यायाम गर्नुपर्छ । तर कडा खालको शारीरिक श्रम भने गर्नुहुँदैन । डायबिटिजका रोगीहरु धेरैले नियमित औषधि खाइरहेको पाइदैंन् । यस्तो गर्नु भनेको समस्यालाई झन् निम्त्याउनु हो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ