२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदम रोग किन र कसरी हुन्छ ? बच्न के गर्ने ?

दम रोग किन र कसरी हुन्छ ? बच्न के गर्ने ?


दम श्वासप्रश्वासको नलीमा वा फोक्सोमा हुने रोग हो । दम एउटा रोग पनि हो र एउटा लक्षण पनि हो । छाती सम्बन्धि श्वासप्रश्वासको रोगलाई हामी दमको लक्षणको रुपमा लिन्छौं । तथापि दम र श्वासप्रश्वास सम्बन्धि समस्या फोक्सो सम्बन्धि मात्र नभएर मुटु सम्बन्धि रोगका बिरामीहरुलाई पनि हुन सक्छ ।

उकालो हिड्दा, भारी बोक्दा वा छिटो—छिटो हिड्दा श्वासप्रश्वास बढ्दै जानु सामान्यतयाः ठिकै मानिएतापनि सामान्य हिँडडुल गर्दा, बस्दा, खाँदा श्वासप्रश्वासको समस्या भयो भने त्यसलाई हामी दमको लक्षणको रुपमा लिन्छौं । शरीरमा रगतको मात्रा निकै कम भयो भने पनि श्वासप्रश्वासमा दम हुन सक्छ ।

सबैभन्दा धेरै हुने दम रोग भनेको ‘सियोपीडी दम’ रोग हो । जुन धुम्रपान र वायु प्रदूषणसँग रिलेटेड छ । लामो समयसम्म धुम्रपान गरेका र वायु प्रदुषणमा रहेका मान्छेहरुलाई हुने दम ‘सियोपीडी दम’ हो । यो विषेशगरी ५०—६० वर्ष कटिसकेका वृद्धवृद्धाहरुलाई धेरै देखिन्छ ।

दम जुन उमेरलाई पनि हुन सक्छ । विशेष गरेर साना—साना बालबालिहरुलाई पनि दम रोग देखिन सक्छ । यसमा लामो समयसम्म छाती घ्यारघ्यार हुने र बढ्दै गएमा श्वासप्रश्वास सम्बन्धि समस्या आउने पनि हुन सक्छ । विशेषगरी महिलाहरुलाई बढी असर गरेतापनि सबै उमेर समूहलाई असर गर्छ ।

के बालबालिकालाई हुने दम छुट्टै हो ?

बालबालिकाहरुलाई धेरै हुने दम रोग भनेको ‘ब्रमकेलअस्मा दम’ हो । यसमा अलिकति वंशाणुगत जोखिम हुन्छ । बुवाआमालाई वा परिवारको अन्य सदस्यहरुलाई एलर्जी दम छ भने बालबालिकाहरुमा पनि त्यो वंशाणुगत रुपमा आउन सक्ने हुन सक्छ । बालबालिकाले लामो समयसम्म खोक्ने, घ्यारघ्यार गर्ने ग¥यो भने यसको जाँच गराउनुपर्छ । यसको मुख्य कारण वंशाणु हो ।

वातावरण प्रदूषणले यसलाई बढाइदिने काम गर्छ । धुम्रपान गरिरहेको आमाबावुको बच्चाहरुलाई बढी देखिने हुन्छ । अझ कडा खालको दम रोग भएका बालबालिकालाई जाडोको समयमा र एलर्जी बढेको समयमा दम रोग बढ्ने गरेको पाइएको छ ।

दमको कारण

वायु प्रदुषणले दमका लागि दुई किसिमले काम गर्छ । यो दमको कारक पनि हो । सियोपिडी भन्ने दम लामो समयसम्म धुँवाको संसर्गमा आएको हावामा भएको प्रदुषणले पनि लाग्न सक्छ ।

पहिलेदेखि दम भएको मानिसलाई पनि प्रदुषित हावामा श्वास लियो भने त्यो रोग बढ्ने, दम रोग बिग्रने, विभिन्न छाती खाले संक्रमणहरु हुने, दमको औषधिले दमको कन्ट्रोल नहुने हुन्छ । वातावरणमा दुई किसिमको प्रदूषण हुन्छ । सहरी प्रदुषण बाह्य वातावरण प्रदुषण हो । वातावरणमा भएका धुलो, गाडीको धुवा, कलकारखनाको धुवा विभिन्न हुन्छन् । त्यो धुवाँ, धुलोको कणहरु फोक्सोमा सिधै गएर दम रोग सुरु गर्न सक्छ ।

तर, अर्को वायु प्रदुषण आन्तरिक पनि हुन्छ । गाउँ घरमा घरभित्र चुलो बाल्छन् । गुइठा, पराल बाल्ने गरिन्छ । त्यसबाट निक्लेको धुवाँले दम रोग गराउन पनि सक्छ । दम रोग बढाउन पनि सक्छ । त्यसैले दम रोग काठमाडौंमा मात्र नभएर सहरसँगै गाउँमा दम रोग छ । यसले मान्छेहरुमा दममात्र नभएर क्यान्सर, मुटु सम्बन्धि रोगहरुको लागि जोखिम बढाइरहेको छ ।

दमका मुख्य लक्षण

  • श्वासप्रश्वासमा समस्या आउनु
  • लामो समयसम्म खोकी लाग्नु
  • छातीबाट घ्यार—घ्यार आवाज आउनु
  • लामो समयसम्म खोकी लागेर डकार आउनु
  • छाती दुख्नु

दमको उपचार

  • नियमित रुपमा इनहिलरको प्रयोग
  • प्रदुषित वातावरणबाट बच्ने
  • धुवाँ, धुलोबाट टाढा रहने
  • नियमित व्यायाम गर्ने
  • सन्तुलित आहार खाने
  • एन्टिअक्सिडेन्टहरुको मात्रा बढी खाने

दम रोगबाट हामी कसरी बच्न सक्छौं ?

१. धुम्रपान नगर्ने
२. वायु प्रदुषणबाट बच्ने
३. श्वासप्रश्वास सम्बन्धि समस्यालाई हेलचेक्र्याइ नगर्ने
४. वंशाणुगत आएको श्वासप्रश्वास रोगलाई समयमै उपचार गर्ने
५. फ्लु, निमोनिया र कोभिडको खोपहरुको प्रयोगले दमको बिग्रदो क्रमलाई रोक्न सहयोग गर्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ