२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यवर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ

वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ


मिर्गौला शरीरमा धेरै काम गर्ने मध्येको एउटा अंग हो । यसले रगतमा भएको विकारहरुलाई छानेर पिसाबको माध्यमबाट बाहिर निकालिदिन्छ । जसले विषाक्त चिजबाट शरीरमा हुने हानीबाट बचाउँछ । यसले शरीर स्वस्थ बनाउन मद्दत गर्छ ।

मिर्गौला रोग भनेको मिर्गौला फेल भएर डायलाइसिस गर्नुपर्ने अवस्था या प्रत्यारोपण गर्नुपर्ने अवस्था मात्र हो भन्ने बुझाइ छ । तर, त्यो मात्र होइन ।

मिर्गौला रोग गराउने कारणहरु उच्च रक्तचाप र मधुमेह हुन् । मिर्गौलामा नै हुने अन्य रोगहरु पनि छन् । जसमा मिर्गौलाको संक्रमणहरु, अन्य रोग जस्तै हेपाटाइटिस, एचआईभी आदि हुन् । मुख्य गरेर बाहिर हुने मधुमेह र रक्तचाप हो भने अन्य आन्तरिक रोगहरु हुन् ।

विश्वमै हेर्दा यसमा मधुमेह पहिलो, दोस्रोमा उच्च रक्तचाप र तेस्रोमा विभिन्न खालका संक्रामक रोगहरु देखिन्छ ।

कुन अवस्थामा मिर्गौला डायलाइसिस या प्रत्यारोपण गर्नुपर्ने हुन्छ ?

मिर्गौला डायलाइसिस या प्रत्यारोपण गर्नुपर्ने भनेको अन्तिम अवस्था हो । यस बेला कुनै पनि औषधिले काम गर्न नसक्ने अवस्था पुगिसकेको हुन्छ । मिर्गौलाले विकार छान्ने प्रक्रियाले काम गर्ने नसक्ने अवस्थामा पुगिसकेको हुन्छ ।

त्यो बेला भनेको मिर्गौलाको काम गर्न सक्ने क्षमता ५ प्रतिशत पनि रहेको हुँदैन् । त्यस्तो बेला कृत्रिम मिर्गौलाबाट केही समयका लागि रगतमा भएको विकार छान्ने प्रक्रिया डायलाइसिस हो । यो लामो समयसम्म गरिराख्दा धेरै खालका शारीरिक समस्याहरु आउँछन् ।

यो एक निश्चित समयका लागि साधन मात्र हो साध्य होइन । साध्य भनेको प्रत्यारोपण नै हो । अर्को व्यक्तिको मिर्गौला शल्यक्रियामार्फत राख्ने प्रक्रिया प्रत्यारोपण हो । प्रत्यारोपणपछि सो बिरामी अन्य सामान्य मानिस जस्तो सक्रिय जीवन बिताउन सक्छ ।

के एक्कासी मिर्गौलाले काम नगर्ने हुन्छ ?

मिर्गौलाले एक्कासी काम नगर्ने भन्ने कहिले पनि हुँदैन् । मिर्गौला भित्र हुने कोषहरु यति धेरै हुन्छ कि लाखौ लाख हुन्छ । यसमा केही लाखले वा १०/२० प्रतिशतले मात्र काम नगर्दा पनि मानिसलाई थाहा नै हुँदैन् ।

त्यही भएर बिरामी उपचारका लागि अन्तिम अवस्थामा मात्र आइपुग्छ । तर, यसलाइ बचाउन सजिलो पनि छ । प्रत्येक वर्ष पिसाब जाँच गर्ने हो भने बचाउन सकिन्छ । पिसाबको रुटिन जाँच गरेर हेर्दा पिसाबमा रगतको मात्र छ छैन पक्का हुन्छ । त्यसमा एल्बोमिन (प्रोटीन) छ छैन र सुगर छ छैन यी तीन कुरा हेरेर त्यहीअनुसार सावधान भयौ भने मिर्गौला बचाउन सकिन्छ ।

मिर्गौलामा यदि यी तीन चिज देखियो भने थप जाँच गरेर उपचारमा जानुपर्छ । होइन भने मिर्गौला स्वस्थ्य छ भनेर ढुक्क हुन सकिन्छ । यदि यी तीन चिजमध्ये कुनै एक देखिएपनि थप जाचको प्रक्रियामा जानुपर्ने हुन्छ । प्रारम्भिक अवस्थामा नै यी कुरा थाहा पाउन सकियो भने मिर्गौला बचाउन सकिन्छ ।

मिर्गौला अल्पकालीन रुपमा फेल भएको र दीर्घकालीन रुपमा फेल हुने हुन्छ । कुनै संक्रामक रोगका कारण मिर्गौलामा परेको असरले केही समय काम नगर्ने पनि हुन्छ । त्यो संक्रमण ठिक भएसँगै पुनः काम गर्ने अवस्थामा अपवादबाहेक मिर्गौला फर्कन्छ ।

अर्को उच्च रक्तचाप या मधुमेहले मिर्गौलालाई छोएको छ भने त्यो विस्तारै समस्या बढ्दै जान्छ । यो स्टेज १ देखि ५ सम्म हुन्छ । यदि सुरुका स्टेज १, २ र ३ भित्र थाहा पाएर उपचार सुरु भएमा त्यसले मिर्गौलाको आयु लम्ब्याउन सकिन्छ । उदाहरणका लागि ५० वर्षको उमेरमा पहिलो स्टेज छ र थाहा भएन भने ५ वर्षमा नै मिर्गौलाको स्टेज धेरै माथि जान्छ तर थाहा भयो र औषधिलगायत व्यवहार परिवर्तन गर्ने हो भने त्यो ५ वर्षमा जुन स्टेजमा पुग्ने हो त्यहाँ पुग्न १५ वर्ष लाग्छ ।

मिर्गौला स्वस्थ राख्नका लागि

मिर्गौला बचाउनका लागि यसले काम गर्ने प्रणालीलाई जोगाइ राख्नु पर्छ । गर्मीको बेला धेरै पसिना जाने हुँदा डिहाइड्रेसन (शरीरमा पानीको कमी) हुन दिनु हुँदैन् । कम्तिमा शरीरकोृ वजनअनुसार साधरणतयाः दैनिक १ दशमलव ५ लिटरदेखि २ लिटर पिसाब जानेगरी पानी पिउनुपर्छ । त्यसले मिर्गौला चनाखो रहन्छ र नचाहिने विकार पिसाबको रुपबाट बाहिर फ्याल्न सहयोग पुग्छ ।

दोस्रो, उच्च रक्तचाप छ भने त्यसलाई पहिचान गरी समयमा नै रोकथाम गर्नुपर्छ । शारीरिक दिनचर्याहरु परिवर्तन गर्नुपर्छ । धेरै नुन नखाने, धेरै चिल्लो नखाने, एक पटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गरेर नखाने, स्वस्थ चिज खाने, नियमित व्यायाम गर्ने, उचाइ अनुसारको तौल व्यवस्थापन गर्ने र मधुमेह हुन नदिने गर्नुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ