२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरमा नसा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया

जनकपुरमा नसा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया


जनकपुरधाम—प्रदेश न. २ को जनकपुरमा पहिलोपटक नसा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया सफल भएको छ । जनकपुरस्थित जानकी हेल्थकेयरमा कार्यरत अर्थोपेडिक एण्ड स्पाइन सर्जन डा. राकेश मण्डलले एक वृद्धको हड्डी खिएर नसा च्यापिएको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन् ।

प्रदेश न. २ का आठ वटै जिल्लाका कुनै अस्पतालमा पनि नसा च्यापिएको मेरुदण्डको शल्यक्रिया हुन सकेका थिएन । ‘ब्याकअप’मा केहि बिरामीको नसा च्यापिएकै मेरुदण्डको शल्यक्रिया गरेपनि डा. मण्डल स्वयं यस्तो शल्यक्रिया गर्न हिच्किचाउँथे । डा. मण्डलले आफ्नै हजुरबुबा ७६ वर्षीय राजकिशोर मण्डल यस्तो समस्याबाट ग्रसित भएपछि शल्यक्रिया गरेका हुन् । हड्डी खिएर नसा च्यापिएको मेरुदण्डको अप्रेशन गर्नुपर्ने भएपछि डा. मण्डलले आफ्ना हजुरबुबाको आफैंले शल्यक्रिया गरेका हुन् ।

‘एक्लै यस्तो शल्यक्रिया कहिल्यै नगरेका कारण हिचकिचावट मनमा त थियो । डर पनि लाग्थ्यो । तर, आँट गरे । गत शनिवार करिब १० घण्टा लगाएर गरिएको शल्यक्रियामा सफल पनि भयौ,’ डा. मण्डलले भने । शल्यक्रिया पश्चात राजकिशोर सहज रुपमा हिँडडुल गर्न थालेका छन् । ‘पहिले हिँड्दा निहुरिनुप¥यो,’ उनले भने, ‘५ मिनेट हिँड्दा पनि ढाड दुख्न सुरु हुन्थ्यो, खुट्टाका भरमा उभिन पनि अप्ठ्यारो हुन्थ्यो । शल्यक्रियापछि अहिले सबै समस्याबाट मुक्त भएको छु,’ राजकिशोरले भने ।

हड्डी खिएर नसा च्यापिएको मेरुदण्डको अप्रेशनमा विराटनगर र काठमाडौंजस्ता सहरमा लाखौं रुपैयाँ खर्च लाग्ने गर्छ । डा. मण्डल भन्छन्, ‘यस्तो खालको शल्यक्रिया बाहिर लाग्ने खर्च भन्दा आधामै गर्छौं, शल्यक्रियाका क्रममा विभिन्न उपकरण र औषधिमै करिब १ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ ।’ प्रदेश २ का बिरामीले बाहिर गएर अप्रेशन गराउँदा बस्ने र खानेदेखि उपचारमा समेत ठूलो रकम खर्चिनुपर्ने बाध्यता थियो । तर, अब जनकपुरमै बिरामीले यो सेवा पाउने भएपछि प्रदेश २ का नागरिकका लागि ठूलो राहत मिल्ने देखिन्छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ