२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महिला विशेषज्ञ डाक्टर नहुँदा जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण हुन सकेन

महिला विशेषज्ञ डाक्टर नहुँदा जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण हुन सकेन


जनकपुरधाम—प्रदेश न. २ को एक मात्र प्रादेशिक अस्पताल जनकपुर अस्पतालमा महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञको अभाव भएको छ । महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञको अभावका कारण सेवाग्राहीहरू समस्यामा परेका छन् ।

महिला विशेषज्ञ डाक्टर नहुँदा दिनहुँ आउने महिला बिरामी तथा प्रसुतिका बिरामीहरु अन्यत्र जान बाध्य भएका छन् । प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञमा ११ जना चिकित्सकको दरबन्दी छ । तर, महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञको एकजना डा. रुवि सिंह मात्रै कार्यरत छन् । डा. सिंह पनि १५ दिनदेखि तीन महिनाको विदामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।

अस्पतालमा कार्यरत एक मात्रै महिला स्त्री रोग विशेषज्ञ विदामा बसेपछि लैङ्गिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरू इच्छा विपरित पुरुष स्त्री रोग विशेषज्ञ डाक्टरबाट उपचार तथा स्वास्थ्य परीक्षण गराउन बाध्य भएको महिला अधिकारकर्मी शिला झाले बताए ।

लैङ्गिक हिंसामा परेर चार महिनाकी गर्भवती भएकी २० वर्षीया युवतीको महिला डाक्टर नभएपछि स्वास्थ्य परीक्षण हुन सकेको छैन । फागुन १८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले लैङ्गिक हिंसामा परेको भनि दिएको जाहेरीपछि प्रहरीले उहाँको स्वास्थ्य परीक्षण गराउन प्रादेशिक अस्पताल जनकपुरमा लगेको थियो । पीडित युवतीले आफ्नो स्वास्थ्य परीक्षण गर्ने डाक्टर महिला स्त्री रोग विशेषज्ञ नै हुनुपर्ने माग गरेपछि उनको स्वास्थ्य परीक्षण हुन सकेन ।

लैङ्गिक हिंसा पीडित महिलाहरूको स्वास्थ्य परीक्षण हाल महिला डाक्टर नभएकाले अन्य अस्पतालमा गराउन सल्लाह दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले बताए । पीडितले स्वास्थ्य परीक्षणका लागि महिला डाक्टर माग गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पीडितको स्वास्थ्य परीक्षण गराउन काठमाडौं पठाउने तयारी गरेको छ ।

पीडितलाई स्वास्थ्य परीक्षण गराउन काठमाडौं पठाउँदा आउने जाने खर्च पीडित स्वयमंले तिर्नुपर्ने भएकाले पीडित युवतीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । पीडित युवती अहिले घरबाहिर जनकपुरमै साथीको घरमा डेरा गरि बसिरहेको बताइन् । उनले आर्थिक समस्या भएको र कानुनी उपचारका लागि समस्या भइरहेको बताइन् ।

स्वास्थ्य परीक्षण हुन नसक्दा मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज समेत रहेकी सई दिपिका ओझाले बताइन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ