२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विकृति अन्त्य गरेर मर्यादित पेशा बनाउन औषधि व्यवसायी एकताबद्ध

विकृति अन्त्य गरेर मर्यादित पेशा बनाउन औषधि व्यवसायी एकताबद्ध


विराटनगर—औषधि व्यवसायमा भएका विकृति, विसंगतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर अगाडि बढ्न पूर्वका औषधि व्यवसायीहरू एकताबद्ध भएका छन् । विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधि व्यवसायीहरूले यस्तो निर्णय गरेका हुन् ।

तीन जिल्लाका औषधि व्यवसायी संघका पदाधिकारीहरूकोे भेलाले व्यवसायीहरूमा भएको समस्याको समाधान गर्न संयन्त्र पनि बनाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधि व्यवसायीको पेशालाई मर्यादित बनाएर नमुना व्यवसायीको रूपमा अब्बल सावित गर्न सबै व्यवसायीहरू एकजुट हुनुपर्ने बताए । ‘हामी भित्रका विकृतिहरू अन्त्य गरी औषधि व्यवसाय मर्यादित र समाजमा स्थापित पेशाको रूपमा अगाडि बढाउनु पर्दछ,’ अध्यक्ष तिम्सिनाले भने । यस्तै, नेपाल औषधि व्यवसायी संघ सुनसरीका
अध्यक्ष रवीन्द्र घिमिरेले देशभरीका औषधि व्यवसायीहरू एक ढिक्का भएर समाजमा स्थापित पेशाको रूपमा चिनाउन लाग्नुपर्ने बताए ।

नेपाल औषधि व्यवस्था विभागसँग समन्वय र सहकार्य गरी व्यवसायीको समस्या सावधान गर्दै अगाडि बढने उनको भनाइ छ । यस्तै, नेपाल औषधि व्यसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले व्यवसायीहरुको समस्याको सावधान गरी औषधिको मूल्यमा एकरूपता कायम गरेर अगाडि बढनुपर्ने बताए ।

यसैगरी, कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधि व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएकोले यस क्षेत्रमा भएका विकृति र विसंगतिहरूको अन्त्य गरि समाजमा मर्यादित पेशाको रूपमा स्थापित गराएर जानुपर्ने बताए । २०३० सालमा स्थापना भएको औषधि व्यवसायी संघ अहिले पनि सामाजमा स्थापित हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । औषधि व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रभात श्रेष्ठले औषधि व्यवसायीहरूको सहकारी बनाएर समाजमा योगदान पु¥याउन सामाजिक कामहरू गरेर अगाडि बढनुपर्ने बताए ।

औषधी व्यवसायी संघ मोरङका उप–कोषाध्यक्ष पुष्पराज पोखरेलले औषधि व्यवस्था विभागले गर्ने विभेदकारी नीतिको अन्त्य हुनुपर्ने बताए । ‘अहिले फार्मेसीको नवीकरण गर्दा औषधि व्यवस्था विभागको कार्यालयमा जाँदा पहाडि जिल्लाका व्यवसायी नगएर अरु कसैलाई पठाउँदा पनि नवीकरण हुने गर्दछ,’ उनले भने, ‘तराई क्षेत्रमा रहेको पसलका व्यवसायी स्वयं आफै उपस्थित भए मात्र नवीकरण हुने गरेको छ । विभागले गर्ने यस्तो विभेद अन्त्य हुनुपर्दछ ।’

यस्तै, संघका सदस्य अनिल चौधरीले औषधि व्यवस्था विभागमा दर्ता भएपनि बजारमा सहज रूपमा नपाइने गरिएको लाइफ सेभिङ औषधिहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने बताए । पहुँचवालाहरूको पसलमा मात्र लाइफ सेभिङ औषधिहरू पाइने भएकोले बिरामीको ज्यान जोगाउने यस्ता औषधीहरू सहज रूपमा पाउनुपर्ने उनले बताए । सहज रूपमा डाइजोक्सिल, भेरामामीलगायतको विभिन्न इन्जेक्सन र औषधिहरू उपलब्ध नहुँदा अवैध रूपमा भारतबाट आउने गरेको छ । यसरी आउने औषधिको कुनै भर नहुने भएकोले राज्यले लाइभ सेभिङ औषधि स्वदेशमा सहज रूपमा उपलब्ध गराएर अवैध रूपमा हुने चोरी तस्करीलाई नियन्त्रण गरिनुपर्ने औषधि व्यवसायीहरूको माग छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिव दिनेश ठाकुरले संचालन गरेको कार्यक्रममा झापा, मोरङ र सनुसरीका औषधी व्यवसायीहरुले आ–आफनो धारणा राखेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ