२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनेपाल औषधि व्यवसायी संघमा नयाँ नेतृत्व चयन

नेपाल औषधि व्यवसायी संघमा नयाँ नेतृत्व चयन


दोलखा—नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा दोलखा तथा रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा भएको उक्त अधिवेशन दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले उद्घाटन गर्दै औषधि व्यवसाय मात्र नभई सेवाअन्तर्गतको व्यवसाय भएको बताए ।

यो व्यवसायमा कुनैपनि प्रश्न नआउने गरी व्यवसाय सञ्चालन गर्न उनले सुझावसमेत दिए । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले औषधि व्यवसाय गर्ने व्यसायी आफै सचेत हुनुपर्ने बताए ।

दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले केही औषधि पसलमा लागु पदार्थ दुर्व्यसनीले औषधि किनेर प्रयोग गरेको सुनिएकाले त्यसतर्फ सचेत हुन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरेले बिरामीले २४ सै घण्टा औषधि पाउने वातावरण बनाउन आग्रह गरे । संघका अध्यक्ष जीवनकुमार श्रेष्ठले यो संघ २०७३ सालमा मात्र स्थापना भएको र सामाजिक उतरदायित्व बहन गरेर काम गरिरहेको बताए ।

अधिवेशनमा जीवनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष अर्जुन बुढाथोकी, महासचिवमा हरि गौतम, सचिव मोहनकुमार श्रेष्ठ, कोषाध्यक्ष भरत बस्नेत र सह—कोषाध्यक्षमा पार्वती श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा मनोजकुमार श्रेष्ठ, जीवननाथ दुलाल, मदन भौकाजी चयन भएको नवनिर्वाचित कोषाध्यक्ष भरत बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ