२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘लकडाउन पूर्ण पालना नगरे स्थिति भयावह हुन सक्छ’

‘लकडाउन पूर्ण पालना नगरे स्थिति भयावह हुन सक्छ’


बुटवल—प्रदेश ५ को अस्थायी राजधानी बुटवल लकडाउनका कारण सुनसान बनेको छ । बुटवल उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्षसहित गरेको लकडाउनले बुटवलसहित तिलोत्तमा र सैनामैनालगायतका क्षेत्रमा प्रभाव देखिएको छ ।

सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाले जनजीवनमा कडाइ गरे पनि लकडाउनको निर्णय भने गरेका छैनन् ।

मंगलबार बुटवल उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो । एक दिनको समय दिएर बिहिवार मध्यरातिदेखि लागु हुने गरी गरिएको लकडाउनको पालना अनिवार्य गरिएको छ ।

एक दिनको समय दिइएकोमा बुधवार बुटवल बजारमा अत्याधिक भिड देखिएको थियो ।

के के खुल्ने छन् ?

लकडाउन अवधिमा बुटवल भित्रका खाद्यान्न पसलहरु विहान ४ घण्टा मात्रै खुल्नेछन् भने डेरीहरु विहान ४ घण्टा र साँझ २ घण्टा खुल्नेछन् । खाद्यान्नका लागि पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म र दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ने गरी निर्णय भएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट कोभिड—१९ तथा दैवी प्रकोप सम्बन्धि आवश्यक सिफारिसका काम हुनेछन् । त्यस्तै, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने छ ।

तरकारी बोक्ने गाडीहरु परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ । मालसामान ढुवानी गर्नेहरुलाई भने उपमहानगरपालिकाले सुरक्षा सतर्कता अपनाएर काम जारी राख्नेछन् । बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । बैंक तथा वित्तिय संस्था विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्न पाउने प्रशासकीय प्रमुख चक्रपाणी शर्माले बताए ।

बन्द रहेका सेवाहरु

लकडाउन अवधिमा सार्वजनिक र निजी सवारी पनि बन्द हुनेछन् । बुटवल क्षेत्र प्रवेश भएर पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने गाडीले बुटवलमा रोक्न, सवारी ओराल्न र चढाउन पाउने छैनन् ।

लकडाउन अवधिमा ठेला तथा दुई पाङ्ग्रेलगायत कुनै पनि साधानमा राखी फुटपाथ, सार्वजनिकस्थल तथा बजारमा व्यापार गर्न रोक लगाइएको छ । त्यस्तै होटल तथा रेष्टुरेन्टहरु बन्द रहनेछन् । यसअघि नै सरकारले संचालन गर्न छुट नदिएका जीम हाउस, सिनेमाहललगायत पनि बन्द रहने उपप्रमुख आचार्यले बताइन् ।

उपमहानगरको आव्हान

समुदायस्तरमै संक्रमण फैलिने जोखिम बढेकाले घरबाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन उपमहानगरले आव्हान गरेको छ । नगरक्षेत्रमा शंकास्पद संक्रमित र ज्वरो, खोकीका बिरामीको संख्या धेरै रहेकाले सुरक्षित रहन उपमहानगरले भनेको हो ।

उपमहानगरले समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्र रुपमा अघि बढाउँदैे समुदायस्तरको अवस्थाबारे अध्ययन गरेर थप निर्णय लिने बताएको छ । बुटवलका १४ देखि १९ नम्बर वडामा बाहेक सबैजसो क्षेत्रमा सक्रिय संक्रमित रहेको आँकलन गरिएको छ । यद्यपि, यति नै संक्रमित छन् भन्ने एकीन तथ्यांक भने छैन् ।

लकडाउनको पूर्ण पालना नगरे स्थिति भयावह हुने भन्दै उपमहानगरले सचेत गराएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ