२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड–१९ सकसः सोह्रश्राद्ध समेत भर्चुअल विधिबाट गर्न नगरपालिकाको आग्रह

कोभिड–१९ सकसः सोह्रश्राद्ध समेत भर्चुअल विधिबाट गर्न नगरपालिकाको आग्रह


बुटवल– समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना संक्रमणको महामारी रोक्न नगरपालिकाले भर्चूअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरबासीलाई अपिल गरेको हो ।

कोरोना महामारीपछि भर्चूअल माध्यमबाट औपचारिक बैठक, छलफल, शिक्षण सिकाइ क्रियाकलाप भैरहेको अवस्थामा नगरपालिकाले सोह्रश्राद्ध कार्यमा समेत सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न वा वैकल्पिक विधि अपनाउन नगरबासीलाई आग्रह गरेको हो ।

विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एकजना पुरोहित एक दिनमै धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन भनिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेक, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।

महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्मको जगेर्ना गर्नु सबैको कर्तव्य रहेकोले सोह्रश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु—पुरोहितले आफ्ना यजमानलाई समयमै जानकारी गराउने, सोह्रश्राद्ध गर्नेले समेत आफ्ना गुरु—पुरोहितबाट जानकारी लिनुपर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ