२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा जोखिम भत्ता बाँडफाँडमा लफडा

प्रदेश ५ मा जोखिम भत्ता बाँडफाँडमा लफडा


बुटवल—प्रदेश ५ मा अग्रपंक्तिमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता अस्पताल प्रशासनका कर्मचारीले लिएको पाइएको छ । कोभिड-१९ को महामारीमा खटिएका स्वास्थ्यकर्मीले पाउनुपर्ने शतप्रतिशत जोखिम भत्ता अस्पताल प्रशासनमा काम गर्ने कर्मचारीले लिएपछि समस्या देखा परेको हो ।

संक्रमितहरुलाई निको बनाउन उनीहरुसँग फ्रन्टलाइनमा काम गर्ने (आइसोलेसन शाखा, भेन्टिलेटर र आईसीयुमा कार्यरत) स्वास्थ्यकर्मीले शतप्रतिशत जोखिम भत्ता पाउने गरी सरकारले मापदण्ड तय गरेको छ ।

गत चैत ९ गतेदेखि फ्रन्टलाइनमा खट्ने कर्मचारीका लागि सरकारले शतप्रतिशत भत्ता दिने निर्णय गरेको थियो । तर, भदौं समेत सकिनै लाग्दा प्रदेश ५ अन्तर्गतका कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले हालसम्म जम्मा ३८ दिनको मात्र जोखिम भत्ता पाएका छन् । उनीहरुले काम गरेको झण्डै ७ महिना अर्थात २ सय १० दिन हुन लागेको छ ।

कुरा यसरी आयो बाहिर 

केही समय अगाडि जोखिम भत्ता र पारिश्रमिक नपाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा ९ जना करार चिकित्सकले अस्पतालको लिखित रुपमा नै ध्यानाकर्षण गराएका थिए । त्यतिमात्र होइन स्वास्थ्यकर्मीहरुले महामारीमा खटिँदा समेत जोखिमभत्ता नपाएको भन्दै जागिर नै छाड्ने बताएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले छानविन समिति बनाएको थियो ।

मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाइयो । डा. पौडेलको नेतृत्वमा रहेको छानविन समितिले अध्ययन गर्दा अग्रपंक्तिमा काम गर्नेले लिनुपर्ने शतप्रतिशत जोखिमभत्ता अस्पतालको प्रशासनमा कार्यरत कर्मचारीले समेत लिएको पाइयो ।

अनुसन्धानका क्रममा फ्रन्टलाइनरले पाउनुपर्ने भत्ता अस्पताल प्रशासनका कर्मचारीहरु पनि नियमित खटिएको आधारमा अस्पतालले दिएको पाइएको उनले बताए । ‘अग्रपंतिmमा कार्यरत ३७ जना स्वास्थ्यकर्मीले शतप्रतिशत पाउनुपर्ने भत्ता नपाएको भनेर गुनासो गर्नुभएको छ । हामीले त्यो आधार पेश गर्न पनि भनेका छौं । हामी स्वास्थयकर्मीको उच्च मनोबलले काम गर्ने वतावरण बनाएर काम गर्छौ,’ उनले भने । अस्पतालमा कार्यरत दुई जना कर्मचारीले भत्ता लिएको र उहाँहरुबाट सो भत्ता फिर्ता समेत लिइसकेको उनले बताए ।

समस्याको जड

स्वास्थ्यकर्मीहरुको भूमिकाका आधारमा भत्ता निर्धारण गरिएको छ । फ्रन्टलाइनर र पृष्ठभूमीमा काम गर्नेको भत्ता प्रकृति एउटै छैन । फ्रन्टलाइनरमा काम गर्नेलाई शतप्रतिशत, प्रयोगशालालगायतमा काम गर्नेलाई ७५ प्रतिशत र अन्य क्षेत्रमा काम गर्नेलाई ५० प्रतिशत जोखिम भत्ता पाउने व्यवस्था छ ।

फ्रन्टलाइनरलाई भनेर छुट्याइएको भत्ता बापतको रकम अस्पतालका सबै कर्मचारीले लिँदा अग्रपंक्तिमा काम गर्ने कर्मचारी छुटेको हुन सक्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘प्रदेश सरकारले भत्ताबाट छुट भएका स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउँछ । त्यो हाम्रो दायित्व हो,’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड—१९ आइसोलेसन शाखामा १ सय १४ जनाले काम गरेका छन् । तर, अस्पतालमा कार्यरत ६ सय ६६ जनालाई नै दामासाहीमा रकम बाँडदा वास्तविक सेवामा खटिने व्यक्ति छुट भएको एक डाक्टरले बताए । बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो जोखिमभत्ता अन्य कर्मचारीले लिएपछि समस्या सुरु भएको उनले बताए ।

जोखिम भत्ताका लागि कहाँ कति बजेट पठाइएको थियो ?

हाल प्रदेशमा ४ वटा कोभिड विशेष अस्पताल छन् । जसमा कार्यरत स्वास्थ्यकर्मीको भूमिकाअनुसार भत्ता प्रदान गर्न प्रदेश सरकारले बजेट पठाइसकेको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गत असारमा जोखिम भत्ता बापत १ करोड ५० लाख रुपैयाँ लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठायो ।

त्यसमध्ये ७० लाख रुपैयाँ कोरोना विशेष अस्थायी अस्पताल धागो कारखानाका स्वास्थ्यकर्मीलाई र ८० लाख प्रादेशिक अस्पतालमा फिभर क्लिनिक र कोरोना भाइरस शंकास्पद बिरामी हेर्ने जिम्मेवारीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि थियो । त्यस्तै भैरहवाको भीम अस्पताललाई ४० लाख पठाइएको थियो ।

उता दाङको बेलझुण्डीस्थित कोरोना अस्पताललाई ५० लाख र बाँकेको कोरोना अस्पताललाई ५० लाख रुपैयाँ जोखिम भत्ता प्रदेश सरकारले निर्णय गरी पठाइसकेको छ । यसबाहेक प्रदेशका १२ जिल्लामा रहेका १० अस्पताल, आयुर्वेद अस्पताल, स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारीको लागि पनि जोखिम भत्ता प्रदेश सरकारले पठाएको मन्त्री बरालले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ