२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदशैँ नजिकिएसँगै प्रदेश ५ मा बढ्न थाल्यो संक्रमणको ‘थर्ड वेभ’को त्रास

दशैँ नजिकिएसँगै प्रदेश ५ मा बढ्न थाल्यो संक्रमणको ‘थर्ड वेभ’को त्रास


बुटवल –  प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले दशैं–तिहारलगत्तै कोरोना संक्रमण बढ्ने जोखिम देखिएको बताए । ‘साउनको तेस्रो हप्ताको सुरुमा सक्रिय संक्रमितको संख्या घटे पनि त्यसपछि बढेर ‘सेकेन्ड वेभ’ आएजस्तै दशैं–तिहारपछि संक्रमणको ‘थर्ड वेभ’ आउने देखियो,’ उनले भने ।

चाडपर्वमा स्वाभाविक रूपमा बढ्ने मान्छेको जमघटलाई सरकारले बल प्रयोग गरेर रोक्न नमिल्ने र जाडो मौसम पनि सुरु हुने भएकाले भाइरस संक्रमण फैलिने जोखिम आकलन गरिएको मन्त्री बरालले बताए । ‘दशैं–तिहारपछि सक्रिय संक्रमितको संख्या पाँच हजार पुग्न सक्ने आकलन गरेर प्रतिकार्य योजना बनाएका छौं, ‘उनले भने, ‘अब आइसीयू र आइसोलेसनको बेड संख्या २५–२५ सय र्पुयाएर एकैपटक पाँच हजारको उपचार गर्ने तयारीमा छौं ।’

अहिले प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या भएको रुपन्देही ‘रेडजोन’मा परेको छ । त्यसपछि क्रमशः कपिलवस्तु र बाँकेमा बढी संक्रमण देखिएको छ ।

आइसीयू अभाव मुख्य समस्या

कोरोना संक्रमितहरूमा श्वासप्रश्वास र निमोनियाको मुख्य समस्या देखिने गरेकाले उनीहरूलाई तत्काल आईसीयू बेडमा राखेर अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ । तर पर्याप्त आईसीयू बेड नहुँदा कतिपय संक्रमित उपचार नपाएरै मृत्युको मुखमा पुगेका छन् ।

प्रदेश ५ सरकारले सञ्चालन गरेका चारवटा कोरोना विशेष अस्पतालमध्ये धाँगो कारखानामा १६, भीम अस्पतालमा ५, बाँकेको खजुरामा ८ र दाङको बेलझुण्डीस्थित अस्पतालमा ५ गरी जम्मा ३४ वटा आइसीयू बेड छन् ।

लक्षण र अन्य स्वास्थ्य समस्यासहितका संक्रमित बढेसँगै सरकारले आइसोलेसन अस्पतालहरूको क्षमता र जनशक्ति बढाउने निर्णय त गरेको छ तर कार्यान्वयन कहिले हुने भन्ने बारे टुङ्गो छैन ।

प्रदेश सरकारले बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा २० वटा आईसीयू बेड थप्ने निर्णय गरेको छ । त्यसपछि अक्सिजन आवश्यक पर्ने संक्रमितले तत्कालै उपचार पाउने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले बताउँछन् । त्यहाँ अहिले ३६ वटा आईसीयू बेड छ ।

त्यस्तै, भैरहवाको भीम अस्पतालमा १३ एचडीयू बेड, केन्द्रीय आयुर्वेद बेलझुण्डीमा १७ एचडीयू बेड र भेरी अस्पताल बाँकेमा आईसीयू ५ बेड र ३० एचडीयू बेड थप्ने सरकारले निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ