२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा कारोना संजाल : मेला पर्वमा संक्रमण र मृत्युदर बढ्ने खतरा

लुम्बिनी प्रदेशमा कारोना संजाल : मेला पर्वमा संक्रमण र मृत्युदर बढ्ने खतरा


बुटवल – लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुमा तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमण चाडपर्वमा थप फैलने खतरा देखिएको छ ।बजार क्षेत्रबाट गाउमा जाने क्रम सुरु भएसँगै कोरोना संक्रमणको जोखिम गाउँमा बढेको हो । प्रदेश सरकारले समेत संक्रमणलाई विशेष ध्यान दिई वैकल्पिक विधि प्रयोग गर्न प्रेरित गरिरहेको छ ।

ग्रामिण क्षेत्रमा कोरोना भाइरस संक्रमण बढ्ने भन्दै कतिपय स्थानीय तहहरुले पिसिआर रिपोर्ट अनिवार्य गरेका छन् । त्यस्तै केही स्थानीय तहहरुले १४ दिने क्वारेन्टाइन बसाइलाई सुनिश्चित गरेका छन् । तर पनि पालना हुनेमा स्थानीय नै ढुक्क छैनन् । ‘शहरबाट छोरा बुहारी आउँछन् । छुट्टै बस भन्न पनि मनले मान्दैन । खै के हुने हो ?, भूमिकास्थान नगरपालिका वडा नम्वर ३ की ७३ बर्षीय चुरकला बन्जाडे भन्छिन्, ‘भगवानका हातमा छ हामी त के जानेका छौँ र ।’

लुम्बिनी प्रदेशमा गत साउनमा पहिलो पटक लकडाउनलाई खुकुलो बनाइएको थियो । साउनमा लकडाउन खुकुलो बनाउँदा संक्रमितको संख्या ४ हजारको हाराहारीमा थियो । अहिले संक्रमितको संख्या झन्डै चार गुणाले बृद्धि भएको छ । प्रदेशमा संक्रमितको संख्या १५ हजार ५ सय नाघेको छ । प्रदेशमा झन्डै ४ हजार १ सय सक्रिय सक्रमित छन् ।

पछिल्लो समय पिसिआर गर्नमा समेत अटेरी हुन थालेको पाइएको छ । ‘रुवाखोकी लागेर चेक गराए पनि पोजेटिभ देखिन्छ किन देखाउनु पर्यो ? तिलोत्तमा ३ का एक पुरुषले भने ‘अव मलाई पनि ज्वारो आउने, रुवाखोकी लाग्ने भएको थियो । तातो पानी खाएँ ठिक भयो ।’

प्रदेशका पहाडी जिल्लामा तुलनात्मक रुपमा संक्रमणको दर कम भए पनि चाडपर्वका कारण संक्रमण बढ्न सक्ने विज्ञहरु सचेत बनाउँछन् । ‘गाउँघर जाँदा निकै विचार गर्नुपर्छ । कतै आफू संक्रमित भइएको त छैन् ? ख्याल गर्नुपर्छ, डा. सन्तोष पोखरेल भन्छन्, ‘चाडवाडको उपहार कोरोना भाइरस नहोस् ।’

सार्वजनिक यातायात खुलेपछि छिमेकी देश भारत तथा देशभित्रकै बिभिन्न शहरहरुबाट गाँउ फर्किनेहरुको संख्या बढेको छ । त्यसरी फकर्नेहरुको पिसीआर टेष्ट गरिएको छैन । पालिकाहरुले क्वारेन्टाइन बन्द गरिसकेका छन् । होम क्वारेन्टाइनमा बसेकाको पिसीआरमा चासो दिइएको छैन। पिसीआर नै नगरी सार्बसाधारणलाई गाँउ पठाउने र बजार तथा यातायात क्षेत्रको भिडलाई बेवास्ता गर्दा संक्रमणको जोखिम बढेको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ