२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदोषीमाथि कारवाही र सुरक्षाको माग गर्दै भेरीका स्वास्थ्यकर्मीद्वारा नाराबाजी र प्रदर्शन

दोषीमाथि कारवाही र सुरक्षाको माग गर्दै भेरीका स्वास्थ्यकर्मीद्वारा नाराबाजी र प्रदर्शन


नेपालगन्ज–नेपालगन्जको भेरी अस्पतालको कोभिड–१९ वार्डमा ड्युटी रहेका चिकित्सक र स्टाफ नर्समाथि बिरामीका आफन्तहरुले हातपात र कुटपिट गरेका छन् ।

अस्पतालको कोभिड–१९ वार्डको हल नं १ मा भर्ना भएका दाङका डिल्लीबहादुर रावतको उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित भएका उनका आफन्तहरुले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भयो भन्दै कुटपिट गरेका हुन् ।

कुरुवाले आक्रमण गरेपछि स्टाफ नर्स सदीक्षा गैरे, आश्विनी गुरुङ, डा. चन्द्रप्रकाश साहुमाथि कुटपिट भएपछि २ तला माथिबाट हाम फालेर भागेको स्टाफ नर्स आश्विनी गुरुङले बताइन् ।

एक्कासी ७-८ जनाको समूह आएर आक्रमण गरेपछि स्टाफ नर्स र चिकित्सक शौचालयमा गएर सिसाको झ्याल फोडेर दुई तला माथिबाट हाम फालेर ज्यान जोगाएका थिए । कुटपिटमा परेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सामान्य चोटपटक लागेपनि स्वास्थ्य अवस्थामा भने सामान्य नै छ ।

उपचारमा खटिएकै बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले आफूहरुको ज्यान असुरक्षित भएको बताउँदैं चिकित्सक र स्वास्थ्यकर्मीहरु सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्किने सक्ने अवस्था नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आक्रमण गर्नेहरुले आफूहरु मुख्यमन्त्रीको मान्छे भएको बताउँदै स्टाफ नर्स र चिकित्सकहरुमाथि आक्रमण गरेको चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले बताए ।

स्टाफ नर्स र चिकित्सकहरुमाथि भएको आक्रमणको विरोध गर्दै स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । उनीहरु दोषी माथि कारबाहीको माग गर्दै प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।

महामारीको अवस्थामा ज्यान नै जोखिममा राखेर बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि घाटी थिचेर ज्यानै मार्ने गरी हातपात हुँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका भाइ मानबहादुर रावत, भरत रावत र छोरा सन्तोष रावत रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ