२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशघण्टौं पर्खाएर एन्टिजेन टेष्ट, पोजेटिभ रिपोर्ट आएपनि सार्वजनिक बस चढेर घर फर्कदै

घण्टौं पर्खाएर एन्टिजेन टेष्ट, पोजेटिभ रिपोर्ट आएपनि सार्वजनिक बस चढेर घर फर्कदै


नेपालगन्ज— नेपालगन्जको जमुनाहा नाकामा एन्टिजेन परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ आएका व्यक्तिहरु पनि सिधै सार्वजनिक बस चडेर आ—आफ्नो घर जाने गरेका छन् । चाडपर्व मनाउन भारतबाट विभिन्न सहरबाट घर फर्कदै गरेकाहरुलाई सीमा नाकामा घण्टौसम्म पर्खाएर एन्टिजेन परीक्षण गरिन्छ । परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका ब्यक्तिहरुलाई कहाँ पठाउने ठाउको ब्यवस्था छैन ।

कोभिड—१९ संक्रमण भएका तर स्वास्थ्य अवस्था सामान्य भएकाहरुलाई राख्ने आइसोलेसन सेन्टरको ब्यवस्था नेपालगन्ज उपमहानगरपालिकाले गर्ने र बिरामीहरुको उपचार भेरी अस्पतालले गर्नुपर्ने हो । तर, पछिल्ला दिनहरुमा स्वास्थ्य अबस्था सामान्य भएका संक्रमितहरु आइसोलेसन सेन्टर र अस्पतालमा बस्न नमान्ने समस्या छ ।

आइसोलेसन सेन्टर र अस्पतालमा बसेर उपचार गराउन चाहनेहरुका लागि पनि नेपालगन्जमा अहिले आइसोलेसन सेन्टरको ब्यबस्था छैन । भेरी अस्पतालले पनि स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितहरुलाई भर्ना गर्दैन ।

संक्रमितलाई राख्ने ब्यवस्था नभएका कारण हेल्थ डेक्सका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई सम्झाई बुझाई गरेर डबल मास्क लगाएर सिधै घर पठाउने गरेका छन् । पोजेटिभ रिपोर्ट आएका संक्रमितहरु पनि ब्यक्ति अन्य ब्यक्तिसँग सार्वजनिक बस चडेर घर जाने गरेका छन् ।

कोभिड—१९ पोजेटिभ भएका ब्यक्ति सार्वजनिक बस चढेर यात्रा गर्दा अन्य यात्रुहरुमा संक्रमण हुने जोखिम अत्याधिक हुन्छ । तर, स्वास्थ्य कार्यालय, नेपालगन्ज उप—महानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँके मात्रै नभएर स्वास्थ्य मन्त्रालयको चरम लापरवाहीका कारण १० भदौदेखि दैनिक १ देखि ३ जनासम्म कोभिड—१९ संक्रमित सार्वजनिक बसमा यात्रा गरेर आ आफ्नो घर गइरहेका छन् ।

१० भदौदेखि २५ असोजसम्म ६५ जना संक्रमित सार्वजनिक बस चढेर बाँके, बर्दिया, सुर्खेत दैलेखदेखि दाङ र सल्यानसम्म पुगेका छन् ।
संक्रमितहरुलाई अस्पताल वा आइसोलेसन सेन्टरमा राखेर उपचारको ब्यवस्था मिलाई दिन स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पटक—पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको डेस्क जमुनाहा नाका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीले बताए ।

कोभिड—१९ संक्रमण बढ्दै गएपछि २०७८ बैशाखदेखि भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कने नेपालीहरुलाई सीमा नाकामा रोकेर कोभिड संक्रमण भए नभएको एकीन गर्नका लागि एन्टिजेन परीक्षण गर्न थालिएको हो ।

पछिल्ला दिनहरुमा सीमा नाकामा दैनिक करिब ३ सय जनाको एन्टिजेन परिक्षण हुने गरेको छ । सोमबार २ सय ७२ जनाको परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण देखिएको छ ।

सीमा नाकामा गरिने एन्टिजेन परीक्षणको रिपोर्ट पाउनका लागि एउटा यात्रुले २ देखि ३ घन्टासम्म पर्खनुपर्छ । चाडपर्वको सिजन सुरु भएकाले पछिल्ला दिनहरुमा नेपाल फर्कनेहरुको भिड बढ्दै गएको छ । बिहान ६ बजेदेखि नै सिमा नाकामा घर फर्किनेहरुको भिड हुन्छ ।
सीमा नाकामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले घर फर्किदै गरेका नेपालीहरुलाई रोकेर चेकजाँच गर्छन् । धेरै भिडभाड हुन थालेपछि सोधपुछ गरेर १० जनामध्ये २÷३ जनाको परीक्षण गर्ने र अन्य ब्यक्तिलाई रिपोर्ट नआउदासम्म पर्खाएर राखिन्छ ।

भारतबाट लामो यात्रा गरेर नेपाल फर्किएकाहरु सीमा नाकामा कोभिड चेकजाँचका लागि घण्टौसम्म अव्यवस्थित रुपले भिडभाडमा बस्न विवश छन् ।

रिपोर्ट नेगेटिभ आए समूहमा रहेका सबैलाई तत्कालै घर जान दिन्छ भने रिपोर्ट पोजेटिभ आए त्यो समूहमा रहेका सबैको एन्टिजेन टेष्ट गरिन्छ । घण्टौ पर्खाएर एन्टिजेन टेष्ट गर्ने तर पोजेटिभ रिपोर्ट आएपनि सार्वजनिक बस चडेर सिधै घर पठाउने गरिएपनि जिल्ला प्रशासन र नेपालगन्ज उप महानगरपालिका रमिते बनेका छन् ।

सीमा नाका भएर लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौ मानिसहरु नेपाल फर्कन्छन् । ती सबै मानिसमध्ये संत्र,मितहरुलाई सँगै राखेर बस्ने खाने र उपचार गर्ने ब्यवस्था उपमहानगरपालिकाले सधै गर्न नसक्ने अवस्था भएकाले संघीय र प्रदेश सरकारदले त्यसका लागि छुट्टै व्यवस्थापन गर्न आबश्यक भएको नेपालगन्ज उपमहमनरपालिकाकी उपमेयर उमा थापाले बताइन् ।

कोभिड—१९ संक्रमण सुरु भएदेखि २५ असोजसम्म जमुनाहा हेल्थ डेक्समा ३६ हजार ९ सय २६ जनाको एन्टिजेन टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्ये ३ सय ८८ जनामा कोभिड संक्रमण देखिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ