२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको कोभिड युनिटमा सहयोग जुटदै, हिसान मोरङद्धारा पाँच लाखको स्वास्थ्य सामाग्री वितरण

कोशीको कोभिड युनिटमा सहयोग जुटदै, हिसान मोरङद्धारा पाँच लाखको स्वास्थ्य सामाग्री वितरण


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ युनिटलाई मनकारी संघसंस्थाहरूको सहयोग जुटने क्रममा बढेको छ । भेन्टिलेटर र आईसीयूसहितको ६२ शैय्याको कोभिड–१९ संक्रमितको उपचार गर्ने कोशी अस्पताल भित्र छुट्टै भवनमा कोभिड युनिट संचालनमा ल्याएपछि मनकारी संघसंस्थाहरूले स्वास्थ्य सामाग्री सहयोग गर्न थालेका हुन् ।

कोभिड युनिट संचालनमा आएको दुई दिन बित्न नपाउँदै कोभिड–१९ संक्रमितले अस्पतालको शैय्या भरिएको छ । तर, यहाँ पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर छैनन् । त्यही भएर मनकारी संघसंस्थाहरूको सहयोग आउने क्रम बढेको छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले कोशी अस्पतालको कोभिड–१९ युनिटलाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ ।

कोभिड–१९ महामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै हिसान मोरङले सोमबार कोशी कोभिड १९ युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अस्पताललाई आवश्यक पर्ने अक्सिजन, त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई पीपीई र सेनिटाइजरलगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

हिसान मोरङमा आवद्ध विराटनगरका एक दर्जन बढी कलेजले आर्थिक रकम जुटाएर ३० थान अक्सिजन सिलिन्डर, २ हजार थान सर्जिकल माक्स १०१ थान पीपीई सेट, १ सय लिटर सेनिटाइजरलगायत ५ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलगायत हिसान मोरङका पदाधिकारीहरुको सहभागिता रहेको थियो । हिसानले अस्पतालका मेसु दासलाई सामान हस्तान्तरण गरेको थियो ।

अस्पताललाई मनकारी संघसंस्थाहरुको सहयोग आउने क्रमम जारी रहेको कोशी अस्पतालका मेसु दासले जानकारी दिए । ‘अहिले अस्पतालमा पर्याप्त अक्सिजन सिलिण्डर छैन । सबै तिरबाट सहयोग आइरहेको छ,’ उनले भने, ‘अहिले २७९ वटा अक्सिजन सिलेण्डर पुग्ेको छ । हामीलाई ३ सय ५० थान अक्सिजन सिलिण्डर आवश्यक पर्दछ ।’ उनले अझै ७० देखि ८० वटा अक्सिजन सिलिण्डर आवश्यक पर्ने जानकारी दिए ।

हस्पिटललाई यसअघि विराटनगर महानगरपालिकाले ३० थान, मारुती उद्योगले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कोशीको कोभिड युनिटमा मंगलबारसम्मा ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ