२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा कोभिड-१९ विरूद्धको खोप लगाउनेको भिड [फोटो फिचर]

विराटनगरमा कोभिड-१९ विरूद्धको खोप लगाउनेको भिड [फोटो फिचर]


विराटनगर – प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरू गरेको छ । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउन सुरू गरेको हो ।

नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउने थालिएको हो । अहिले विराटनगरको खोप केन्द्रमा खोप लगाउनेको भिड छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारलाई प्राप्त भएको सबै खोप शनिबारदेखि नै जिल्लाहरुमा वितरण गर्ने कार्य थालिएकोले सोमबारदेखि प्रदेशका धेरै जिल्लाले खोप लगाउने कार्य शुभराम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोप जिल्लाहरुमा वितरण थालिएको र सोमबारसम्म सबै जिल्लाका लागि खोप वितरण भइसक्ने आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

उनका अनुसार आइतबारसम्म मोरङ, सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुलाई भेरोसेल खोप पठाइसकिएकोे छ । सोमबारसम्म सबै जिल्लामा खोप पठाइसकिने मन्त्रालयले जनाएको छ । साहका अनुसार अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसनको खोप वितरण गरिने छ । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने तयारी प्रदेश सरकारले गरेको छ ।

विराटनगरको यी ठाउँमा खोपकेन्द्र

सोमबारदेखि विराटनगरको दुई वटा खोप केन्द्रबाट खोप लगाउन थालेको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार विराटनगरको वीरेन्द्र सभागृह र कोशी अस्पतालमा भेरोसेल खोप लगाउने कार्य सुरु भएको छ । खोप केन्द्रमा सर्वसाधारणको घुँइचो लागेको छ । झरीमा छाता ओडेर खोप लगाउन लाइनमा बसेका छन् ।

महानगरपालिकाले तीनवटा केन्द्र निर्धारण गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ । परिवार नियोजन संघमा बालबालिकाहरुका लागि नियमित खोप लगाउने केन्द्र सञ्चालनमा रहेका कारण त्यसमा असर पुग्ने भएकोले जिल्ला प्रशासन कार्यालयले रोकिदिएको हो । ‘तत्काल दुईवटा केन्द्रबाटै खोप लगाउने कार्य हुने र केही दिनपछि वडाहरुमै गएर खोप लगाइने छ,’ कार्कीले भने ।

सोमबारदेखि ५५ वर्ष माथिका नागरिक, अग्रपङ्तिमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यसअघि खोप लगाउन छुटेका व्यक्तिहरु, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरु, सहचालकहरु पनि खोपको सूचिमा छन् । भेरोसेल खोपको पहिलो डोज लगाएर दोस्रो खोप लगाउने समय पुगेका व्यक्तिहरुले पनि सोमबारदेखिको अभियानमा खोप लगाउन सक्ने छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा बेला जिल्ला स्वास्थ्य कार्यालयबाट नियमित खोप लगाउने गरी प्रबन्ध भएको जानकारी कार्कीले दिए । महानगरले प्रहरी तालिम केन्द्रका लागि आवश्यक पर्ने खोप तालिम केन्द्रमा एकमुष्ट पठाएको छ ।विराटनगर महानगरपालिकामा सर्वसाधारणका लागि यसपटक ७ हजार ५०० मात्रा खोप प्राप्त भएको छ ।

दुईवटा केन्द्रबाट ती खोप लगाइने कार्कीले जानकारी दिए । उनले भने, ‘अब खोपको लागी धेरै आत्तिनु पर्ने अवस्था छैन, यो खोप लगाउने बित्तिकै हामी फेरी जोन्सनको खोप लगाउन थाल्छौं, त्यसपछि फेरी भेरोसेल नै प्राप्त हुन्छ र त्यो पनि लगाउँछौं , त्यसैले सोमबार नै ठूलो भिड बनाएर लाग्नु पर्ने अवस्था देखिदैन भन्ने लागेको छ ।’


क्याटेगोरी : प्रदेश १
ट्याग : #कोभिड-१९ विरूद्धको खोप, #खोप लगाउनेको भिड, #मोरङका स्थानीय तह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ