२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ट्राफिक प्रहरीको मास्क अभियान

विराटनगरमा ट्राफिक प्रहरीको मास्क अभियान


विराटनगर—तपाईं प्रदेश १ को राजधानी विराटनगरमा यात्रा गर्दै हुनुहुन्छ । यदि हुनुहुन्छ भने अनिवार्य मास्क लगाउनुस् । नभए प्रहरीले समाउला ! पछिल्लो समय विराटनगरसहित प्रदेशमा कोभिड–१९ संक्रमण बढ्दै गएपछि विराटनगरको ट्राफिक चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘मास्क बैंक’ स्थापना गरी अनिवार्य मास्क लगाउने अभियान सञ्चालन गरेको छ ।

‘मास्क बैंक’ स्थापना गरेर सचेतना अभियान सुरू गरेको मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए । कोभिड–१९ को जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो । महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रण बाहिर जान थालेको र पछिल्लो समय मास्क नलगाएर हिडडुल गर्न थालेपछि सचेतना अभियानसँगै विराटनगरको ट्राफिक चोकमा ‘मास्क बैंक’ स्थापना गरी अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको ट्राफिक प्रहरी निरीक्षक खड्काले बताए ।

‘सडकमा हिँड्नेदेखि सवारी साधानमा चढेनेसम्मलाई अनिवार्य मास्क गरेका छौं,’ उनले भने, ‘त्यसको लागि हामीले मास्क बैंक स्थापना गरेका छौं । पहिलो चरणमा मास्क अनिवार्य लगाउन सचेतना जागरुक गराउने छौं ।’

माक्स लगाउँदा मात्र पनि कोभिड–१९ को संक्रमण केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने भन्दै प्रहरीले अनिवाय मास्क अभियान सञ्चालन गरेको हो । मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन, २०२० बमोजिम कारबाही गरिने मोरङ प्रहरीले जनाएको छ । प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

‘सामान किन्न जानेलाई पनि सम्झाउने गरेका छौं,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यसमा प्रहरीको मात्र दायित्व भनेर हुँदैन । नागरिक आफैं सजग र सचेत हुन आवश्यक छ ।’ कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका उपाय सिकाउँदै विभिन्न सरोकारवालाहरुको सहकार्यमा माइकिङ पनि प्रहरीले गर्ने गरेको छ । ‘सकेसम्म संक्रमणबाट जोगिन अभिप्रेरित गर्न खोजेका छौं । व्यक्ति स्वयं सचेत भएमात्र जोखिमबाट बच्न सकिने हो । त्यही भएर स्वास्थ्य मापदण्डको पालना अहिलेको आवश्यकता हो,’ खड्काले भने ।

मानिसलाई भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अरुबेला घरभन्दा बाहिर ननिस्किन, निस्के पनि अनिवार्य माक्स र कम्तिमा दुई मिटर भौतिक दूरी कायम गर्न अनुरोध पनि प्रहरीले गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सबै तहका प्रहरीलाई अनिवार्य माक्सको व्यवस्था गरिएको भन्दै उनले भने, ‘कार्यालयमा आउने सेवाग्राही पनि अनिवार्य माक्स लगाएर आउनुपर्ने छ । यदि माक्स प्रयोग नगरेकालाई कार्यालय आफैंले पनि मास्क उपलब्ध गराउने गरेको छ ।’

सर्वसाधारणहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा प्रहरीले यसमा सक्रियता बढाएको हो । प्रहरीको यस अभियानलाई धेरैजसोले सकारात्मक रुपमा लिएका छन् । ट्राफिक प्रहरीले थालेको यस अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने सामाजिक युवा अभियन्ता पेरिस सुवेदीले बताए ।

पछिल्लो समय प्रदेश १ मा देखिएको संक्रमण मध्ये सबैभन्दा बढी संक्रमित मोरङको रहेको छन् । मोरङको पनि विराटनगरम धेरै संक्रमित भेटिन थालेका छन् । विराटनगरमा सोमबारसम्ममा १२ हजार ७ सय २४ जना संक्रमित भएका छन् भने कोभिडले १ सय ६७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ