२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘अस्पतालले बन्धक बनाएको होइन न्यायका लागि बाध्यताले अस्पतालमा बसेका हौं’

‘अस्पतालले बन्धक बनाएको होइन न्यायका लागि बाध्यताले अस्पतालमा बसेका हौं’


झापा– सडक दुर्घटनामा परी ६ महिनादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारत शिवसताक्षी नगरपालिका—२ का यमबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम श्रेष्ठ र उनको परिवारले आफूहरु न्याय पाउनको लागि अस्पतालमा बसेको बताएका छन् ।

अस्पताल र चिकित्सकले धेरै अगाडि डिस्चार्ज दिएतापनि आफूहरुलाई ठक्कर दिएर घाइते बनाउने ट्रकका मालिक सम्पर्कमा नआएका कारण मुद्धा कमजोर हुन्छ भनेर अस्पताल प्रशासनको सल्लाहमा नै अस्पतालमा बसेको बताए ।

बिहिबार एक राष्ट्रिय दैनिकमा बीएण्डसीले बन्धक बनाएको समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशनपछि बिरामी र बिरामीका परिवारले पत्रकार सम्मेलन गरी अस्पतालले बन्धक बनाएको नभएर घर जाँदा मुद्धा कमजोर हुने भन्दै अस्पताल प्रशासनसँगको सल्लाहमा नै अस्पताल बसेको यमबहादुरका भाइ खेमबहादुर श्रेष्ठले बताए ।

‘घर जादा हाम्रो मुद्धा कमजोर हुन्छ । हामीलाई ठक्कर दिने ट्रक धनीले दिनुपर्ने रकम नदिने वातावरण हुनसक्छ भनेर हामी आपसी सल्लाहमा नै यहाँ बसेका हौं,’ खेमबहादुरले भने, ‘मृत्युको मुखबाट बचाउने अस्पतालको विषयमा हामीले बोल्दै नबोलेको समाचार आयो ।’

गत १९ फागुनमा झापाको कनकाईमा को १ ख १६८४ नम्बरको रिजाल ग्याँसको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो ठक्करबाट कारमा सवार दुई जनाको घटनास्थलमानै मृत्यु भएको थियो भने मोटरसाइकल चालक श्रेष्ठ दम्पती गम्भीर घाइते भएका थिए । घाइते उनीहरुमध्ये यमबहादुरको एउटा खुट्टा काटिएको छ भने श्रीमती सनमको स्टील हालिएको छ ।

उनीहरुको उपचारमा ठूलो खर्च भएको र ठक्कर दिने ट्रक मालिक सम्पर्कमा आइनदिदा बिरामीको अस्पताल बसाइँ लम्बिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । ‘उहाँहरुको उपचारमा ठूलो खर्च भएको छ । ठक्कर दिने ट्रक सम्बन्धित मान्छेहरु सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘मुद्धा चलिरहेको छ, उहाँहरु अस्पतालमा रहँदा मुद्धालाई सहयोगी हुन्छ भनेर उहाँहरुकै आग्रहमा अस्पतालमा राखिएको हो । अस्पतालले त धेरै अघि डिस्चार्ज दिइसकेको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ