२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको ट्युमर

शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको ट्युमर


विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट ५ किलोको ट्युमर (मासुको डल्लो) निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ वर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको टयुमर शल्यक्रिया गरेर निकालिएको हो ।

ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा. अमित भट्टराईले बताए । ‘उहाँको गर्धनभन्दा मुनी ढाडको सिरानमा मासु पलाएको रहेछ । धेरै वर्षअघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,’ डा. भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौं । अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ । अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौं ।’

डा. भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर ट्युमर निकालेको हो । बिरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनेस्थेसियोलोजिष्ट प्रा.डा. सीआर दासले सहयोग गरेका थिए । करिब १० वर्षअघि तामाङको गर्धनभन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रुपमा बढ्दै गएर ठूलो भएको हो । ढाडमा अस्वभाविक रुपमा मासुको डल्लो बढेपछि तामाङलाई हिडडुल गर्न र सुत्न निकै समस्या हुने गरेको थियो । उनी वर्षौ अघिदेखि ५ किलोको ट्युमर बोकेर बसिरहेका थिए ।

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो बिमिरो जस्तो निस्किएको थियो पछि बढ्दै–बढ्दै गयो । सधै भारी बोकेर बासिरहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो । १० बर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ ।’

यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्युमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ