२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक

६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक


काठमाडौं—६ वर्ष बितिसक्दा पनि बालाजुस्थित जनमैत्री अस्पतालका चिकित्सकहरुले पारिश्रमिक भुक्तानी नपाएको खुलेको छ । ६ वर्षअघि तत्कालीन अस्पताल व्यवस्थापनले पारिश्रमिक नदिएपछि चिकित्सकहरु श्रम कार्यलयलाई गुहार्न पुगेका थिए ।

श्रम कार्यलयमा परेको निवेदनमा उल्लेख भएअनुसार २० जना चिकित्सकको मात्रै ९८ लाख १८ हजार १ सय ८५ रुपैयाँ अस्पतालले भुक्तानी दिन बाँकी छ । यस्तै, अस्पतालबाट पारिश्रमिक नपाएका एक चिकित्सककाअनुसार थप १० जना मेडिकल अधिकृतको पनि पारिश्रमिक अस्पतालले दिएको छैन । ‘१० जना मेडिकल अधिकृतको एकजनाको ३ लाख रुपैयाँ हिसाबले झण्डै ३० लाख रुपैयाँ पारिश्रमिक पाउन बाँकी छ,’ ती चिकित्सकले भने ।

पारिश्रमिक नपाएपछि चिकित्सकहरुले २०७३ साउन १६ मा श्रम कार्यलय टेकुमा निवेदन दिएका थिए । निवेदनसँगै पारिश्रमिक नपाएका चिकित्सकहरुले भुक्तानीका लागि पहल गरिदिन माग गर्दै बारम्बार श्रम कार्यलयसमेत धाएका थिए । ‘ठूला नेताहरुले चलाएको अस्पताल हो भन्दैं श्रमका तत्कालीन कर्मचारीहरुले निरिहता देखाउनुभयो,’ निवेदकमध्ये एक चिकित्सकले भने, ‘अस्पतालसँग मिल्नुहोस्, जसरी हुन्छ अस्पताललाई फकाउनुहोस् भन्ने जवाफ पायौं ।’

२० जना चिकित्सकहरुले श्रम कार्यलयमा दिएको निवेदनमा अस्पतालका प्रमुख कृष्ण शर्माबाट श्रम ऐन, २०४८ अनुसार पारिश्रमिक दिलाइ पाउँ भनेर उल्लेख गरिएको छ । चिकित्सकहरुले दिएको उक्त निवेदनमा एकजना चिकित्सकले कम्तिमा ४० हजारदेखि २८ लाखसम्म  पारिश्रमिक भुक्तानी बाँकी रहेको देखिन्छ ।

जनमैत्री अस्पतालमा तत्कालीन माओवादी पार्टी निकट व्यक्तिहरुको लगानी रहेको थियो । यस विषयमा तत्कालीन अस्पतालका प्रमुख कृष्ण शर्मासँग बुझ्दा चिकित्सकहरुको पारिश्रमिक दिन बाँकी रहेको र अहिले अस्पतालको व्यवस्थापन नै परिवर्तन भइसकेको हुँदा नयाँ व्यवस्थापनले सो दायित्व लिनुपर्ने बताए । ‘अस्पतालमा काम गरेका चिकित्सकहरुको पारिश्रमिक दिन बाँकी छ,’ उनले भने, ‘अहिले जसले अस्पतालको स्वामित्व टेकओभर गरेको छ । उसले नै त्यो तिर्नुपर्ने हुन्छ । यो स्वभाविक हो । नयाँ व्यवस्थापनसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ ।’

पारिश्रमिक पाउन बाँकी रहेका चिकित्सकहरु भने अहिले पुरानो व्यवस्थापनले नयाँले दिने र नयाँले पुरानो व्यवस्थापन दिने भन्दैं झुक्काइरहेको बताउँछन् । ‘पुराना सञ्चालकहरु नयाँ व्यवस्थापनलाई जिम्मा लगाइसकेको भन्दै पन्छिनुहुन्छ,’ ती चिकित्सक भन्छन्, ‘नयाँ व्यवस्थापन लिएको राज्यमन्त्रीसहितको सञ्चालकहरुसँग भेट्दा पुरानो व्यवस्थापनले तिर्ने हो भन्नुहुन्छ । हामीलाई झुलाएर हैरान पारिसके ।’

यस विषयमा नयाँ व्यवस्थापन लिएका प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री समेत रहेका व्यवसायी उमेश श्रेष्ठसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । जनमैत्री अस्पतालको स्वामित्व केही समयअघि श्रेष्ठको समूहले लिएको हो । ११ रोपनी क्षेत्रफलमा फैलिएको र आफ्नै ६ तले भवन रहेको जनमैत्री अस्पताल श्रेष्ठको समूहले माओवादी नेताहरुबाट १ अर्ब भन्दा बढीमा किनेको स्रोतको दावी छ । श्रेष्ठको समूहले जनमैत्री अस्पताललाई सिल्भर लाइन अस्पतालका नाममा ब्राण्डिङ समेत सुरु गरिसकेका छन् ।

के भएको छ श्रम कार्यलयमा ?

६ वर्षअघि नै २० जना चिकित्सकले पारिश्रमिक उपलब्ध गराइ पाउ भन्दैं श्रम कार्यलयलाई गुहारेका थिए । त्यो बेला अन्य कर्मचारीहरु पनि श्रम कार्यलय पुगेका थिए । त्यो बेला व्यवस्थापनले चिकित्सकबाहेकका अन्य कर्मचारीको भुक्तानी ग¥यो ।

तर, श्रम कार्यलयमा चिकित्सकहरुले पटक—पटक धाउँदा पनि ठूला नेताहरुले चलाएको भन्दैं तत्कालीन कर्मचारीहरुले पारिश्रमिक दिलाउन भूमिका नखेलेको पीडित चिकित्सकहरु बताउँछन् ।

उक्त उजुरीबारे श्रम कार्यलयका प्रमुख सुजन जोजिजुसँग बुझ्दा उनले ६ वर्षअघि उजुरी भएको भन्दै अनभिज्ञता प्रकट गरे । ‘फ्लोअप भएन उजुरी तामेलीमा जान्छ,’ उनले भने, ‘उजुरी परेपछि सुरुमा दुवै पक्षसँग वार्ता गर्छौ, वार्तामार्फत मिलेन भने मुद्धामा जाने हो ।’

जोजिजुकाअनुसार मुद्धा तामेलीमा गएतापनि त्यसको अवस्था हेरेर त्यसलाई जगाउन मिल्छ । ‘उजुरी तामेलीमा गएको छ भने पुनः निवेदन परेपछि फाइलको स्टाटस हेरेर पुनःजागा गर्न मिल्छ,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित पक्षहरु आएर फ्लोअप गर्नुप¥यो ।’


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ