२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक

स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक


कैलाली–कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा झण्डै एक वर्षदेखि एक्सरे सेवा बन्द रहेको छ । गोदावरी नगरपालिका मातहत रहेको यस क्षेत्रकै पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा रहेको एक्सरे मेसिन बिग्रएको एक बर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन् ।

अस्पतालबाट सहुलियत रुपमा पाउँदै आएको एक्सरे सेवा बन्द भएपछि अस्पतालमा पुग्ने बिरामीहरु मर्कामा परेका छन् । सरकारी अस्पताल भनेर गोदावरी नगरपालिकासँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकावाट समेत उपचारका लागि अस्पतालमा पुग्ने विरामीहरु अहिले एक्सरे गराउन निजी स्वास्थ्य संस्थामा जान बाध्य रहेका छन् ।

सेवा बन्द भएपछि मालाखेती अस्पतालका चिकित्सकहरुले बिरामीहरुलाई अन्यत्र पठाउने गरेको र बिरामीहरू चर्को शुल्क तिरेर कैलालीको अत्तरिया, धनगढीका निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिवराज पनेरुकाअनुसार अहिले अस्पतालमा दुई–दुई वटा एक्सरे मेसिन रहे पनि दुवै प्रयोगबिहिन रहेका छन् । अहिले आर्थिकदेखि सम्पूर्ण हकअधिकार नगरपालिकासँग रहेको बताउँदैं डा. पनेरुले यसको बारेमा नगरपालिकालाई बारम्बार जानकारी गराउँदैं आएको बताए ।

सात आठ महिना पहिलेदेखि निरन्तर संञ्चालन हुँदै आएको पुरानो एक्सरे मेसिन बिग्रेको उनले बताए । यस्तै, अस्पताल अहिले नयाँ भवनमा सरेपछि एक्सरे मेसिनका लागि आवश्यक पर्ने डार्क रुम समेत नभएको उनको भनाइँ छ । एक्सरे मेसिन प्रयोगबिहिन हुँदा उपचार सेवा प्रभावित भएको डा. पनेरुले बताए । ‘अस्पतालको सामान बिग्रएपछि मर्मतका लागि भनेर हामीले अनुरोध पत्र लेख्ने हो,’ उनले भने, ‘एक्सरे मेसिन बिग्रिएपछि हामीले नगरपालिकालाई खबर ग¥यौ, नगरपालिकाले ध्यान दिनुपर्ने हो अहिलेसम्म केही भएको छैन ।’

उनले पुरानो मेसिन बनाउनभन्दा नयाँ खरिद गर्नमा कम खर्च लाग्ने देखिएको बताए । यो सँगै मेसिन राख्नका लागि एउटा छुट्टै कोठाको अबश्यकता पर्ने र यसका लागि डार्क रुम बनाउन नसकिएको उनले बताए । उनले अहिले एक्सरे गर्नका लागि दैनिक रुपमा २० देखि ३० जना बिरामीहरु अस्पतालसम्म पुग्ने गरेको बताए । ‘एक्सरे गर्नका लागि अस्पतालमा दैनिक बिरामीहरु आइरहेका छन्,’ उनले थपे, ‘यसका लागि आवश्यक जनशक्ति पनि राखिएको छ तर के गर्नु सेवा सुचारु नहुँदा अहिले एक्सरे सेवामा काम गर्ने कर्मचारी त्यतिकै बसेर दिन कटाउने गर्दछन् ।’ उनले एक्सरे गर्नुपर्ने बिरामीहरुलाई अत्तरिया, धनगढीलगायका निजी अस्पतालहमा पठाउनुको विकल्प नरहेको बताए ।

उता गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर खड्काले बन्द अवस्थामा रहेको एक्सरे सेवालाई सुचारु गर्नका लागि नगरपालिकाले पटक–पटक अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए । उनले बन्द अबस्थामा रहेको एक्सरे सेवालाई सुचारु गर्ने बिषयलाई आफूले सबैलाई जानकारी गराइसकेको र अबको केहि दिनमै सेवा पूर्ण रुपमा सुचारु गरिने बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ