२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशयसरी हुँदैंछ गेटा मेडिकल कलेजको निर्माण कार्य, कहिलेसम्म होला सञ्चालन ?

यसरी हुँदैंछ गेटा मेडिकल कलेजको निर्माण कार्य, कहिलेसम्म होला सञ्चालन ?


कैलाली— सुदूरपश्चिम प्रदेशको मेडिकल शिक्षाको भविष्यसँग जोडिएको गेटा मेडिकल कलेज सञ्चालनका लागि गृहकार्य थालिएको छ । सकेसम्म चाँडै मेडिकल सञ्चालन गर्ने लक्ष्यका साथ गृहकार्य थालिएको हो ।

हालसम्म निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य छ । मेडिकल कलेजको न्यूनतम पूर्वाधार र आवश्यक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएकाले मेडिकल कलेज सञ्चालनको गृहकार्य पनि सुरु गरिएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले जानकारी दिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले ‘मोडालिटी’ बनाउने कार्य गरिरहेको समितिका निर्देशक भीमबहादुर साउँदले जानकारी दिए । ‘कलेज कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन’, उनले भने, ‘मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।’

अहिलेसम्म मेडिकल कलेज सञ्चालन गर्नका लागि कानुनी जटिलता छ । कानुन बनेमा सकेसम्म चाँडै मेडिकल कलेज सञ्चालनमा आउने बताइएको छ । सम्भवतः हिउँदे अधिवेशनमा संघीय सरकारले कानुन बनाउने साउँदले बताए । ‘कानुन बनेमा जतिसक्दो चाँडै मेडिकल सञ्चालनमा आउन सक्छ’, उनले थपे, ‘किनभने, न्यूनतम भौतिक पूर्वाधार निर्माणको काम हामी चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्छौ ।’


आवश्यक उपकरणसहित भौतिक न्यूनतम पूर्वाधारको काम भौतिक रुपमा एकवर्षभित्रै सक्ने लक्ष्य रहेको साउँदको भनाइ छ । आवश्यक संरचना निर्माणको काम सम्भवतः ६ महिनाभित्रै पूरा हुने उनले बताए । समितिले तीन महिनापछि कलेज भवन हस्तान्तरणको तयारी पनि गरिरहेको छ ।

गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । कलेज, अस्पताल र होस्टेल भवनलगायतका मुख्य–मुख्य संरचनाको निर्माण कार्य अन्तिमतिर पुगेको छ । यी संरचनाहरुलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

समितिका इन्जिनियर पवन रावलकाअनुसार कलेज भवनको निर्माण कार्य हालसम्म ८० प्रतिशत पूरा भएको छ । उक्त भवनको भित्री भागमा ‘फिनिसिङ’ भइरहेको छ । झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम बाँकी रहेको जनाइएको छ ।

यसैगरी, पहिलो प्याकेज अन्तर्गत निर्माण भइरहेको अस्पतालको तल्लो भवनको निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ । त्यसैमाथि बनिरहेको दोस्रो प्याकेज अन्तर्गतको दोस्रो अस्पताल भवनको निर्माण कार्य लगभग ४५ प्रतिशत सकिएको जनाइएको छ । तीन÷तीन सय गरी दुवै अस्पताल भवन ६ सय शैय्याको रहेको छ ।

दुई ठूलो होस्टेलको निर्माण कार्य ६० प्रतिशत पुगेको र अर्को सानो होस्टेलको निर्माणको काम १५ प्रतिशत रहेको इन्जिनियर रावलले जानकारी दिए । होस्टेलको निर्माण अवधि अझै एक वर्ष बाँकी रहेको छ ।


यसैगरी, डाक्टर र कर्मचारी आवास भवनको निर्माण कार्य ४६ प्रतिशत पूरा भएको छ । आवास भवनको निर्माण अवधि अझै एक वर्ष दुई महिना बाँकी रहेको छ । प्रशासनिक भवनको निर्माण कार्य भने सन्तोषजनक छैन् । सबैभन्दा पहिले ठेक्का भएको प्रशासनिक भवनको निर्माण कार्य अत्यन्त सुस्त रहेको इन्जिनियर रावलले जानकारी दिए । एक वर्ष पाँच महिनामात्रै निर्माण अवधि रहेको प्रशासनिक भवन निर्माणको लागि तीन पटक म्याद थप भइसकेको छ ।

‘१३ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रशासनिक भवनको थपिएको समय पनि यहि भदौसम्म मात्रै छ’, रावलले भने, ‘अहिलेसम्म ५५ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।’ सबैभन्दा पहिले निर्माण कार्य सकिनुपर्ने प्रशासनिक भवनको भौतिक प्रगति कलेज भवनको भन्दा कम छ । रविना कन्स्ट्रक्शन प्रालिले प्रशासनिक भवनको निर्माण कार्य गरिरहेको छ ।

केहि वर्षसम्म रुख कटानको लागि वनले आदेश नदिंदा र जग्गा स्वामित्वको विवादले गेटा मेडिकल कलेज निर्माणको कार्यमा ढिलाइ भएको थियो । वनबाट अब अवरोध नरहे पनि केही मुक्त कमैया परिवार त्यही जग्गामा बसेकाले बताइएको छ । चार/पाँच परिवार मुक्त कमैया भएकाले मेडिकल कलेजको कलेज भवनको जग्गा भोगाधिकार प्राप्त गर्न समस्या भइरहेको इन्जिनियर रावलले बताए ।

आर्थिक वर्ष २०८०/०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ । हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारमात्रै निर्माण भइरहेको छ । आवश्यकतानुरुपका थप पूर्वाधारको विभिन्न समयमा निर्माण हुँदै जाने रावलले बताए । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो । तर, निर्माण कार्य भने ढिला गरी सुरु भएको थियो ।

गेटा मेडिकल कलेज निर्माणमा हालसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ । साना–ठूला गरी विभिन्न २७ वटा संरचना निर्माण भइरहेको मेडिकल कलेजको तयार पार्न सात अर्ब रुपैयाँ खर्च हुने रावलले बताए ।

गेटा मेडिकल कलेज निर्माणको लागि चालू आर्थिक वर्ष एक अर्ब २५ करोड रुपैयाँ बजेट संघीय सरकारले दिएको छ । ५१ दशमलव ८ हेक्टर क्षेत्रफल जमिनमा गुरु योजना अनुसार गेटा मेडिकल कलेजको निर्माण कार्य भइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा ठूलो टेवा

गेटा मेडिकल कलेज सञ्चालन भएमा प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रदेशवासीको अपेक्षा छ । हालसम्म एउटा पनि मेडिकल कलेज नहुँदा प्रदेशका जनताले दुःख भोगिरहेका छन् ।

ठूलो र सुविधा सम्पन्न अस्पताल नहुँदा प्रदेशवासीले उपचारको लागि कोहलपुर, काठमाडौं र भारतसम्म धाउनुपर्ने बाध्यता छ । गेटा मेडिकल सञ्चालन भएमा उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ