२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च

सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च


कैलाली–सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर बिरामीको उपचार गर्ने क्रम बढेको छ । आपतकालीन अवस्थामा रहेका व्यक्तिको ज्यान जोगाउन यस्तो उपचार प्रक्रियामा बढोतरी भएको हो । पछिल्लो पटक बझाङ केदास्युँ गाउँपालिका–७ काँडाचौरकी ज्ञाना धामीको हेलिकप्टर चार्टरबाट उपचार भएको छ ।

सरकारले हेलिकप्टर चार्टरबाट सुत्केरीको उद्धार गर्नु स्थानीयका लागि खुशीको विषय भएको बझाङ केदारस्युँ गाउँपालिका–७ का धनबहादुर जाग्रीले बताए । ‘दुर्गम ठाउँमा ज्यान जोखिममा रहेका महिलाहरुको उद्धार गर्नु राम्रो पक्ष हो’ उनले भने, ‘तर, दुर्गमका सुत्केरीको समस्या हेलिकप्टर चार्टर गरेर सबैको उपचार गर्न सम्भव छैन ।’ अस्पतालको बेडमा प्रसव पीडाले छट्पटाई रहेको महिलाको सरकारले हेलिकप्टर बाट उद्धार गर्ने नीति ल्याए पनि सबैले सहज सुविधा पाउन समस्या रहेको उनले औल्याए ।

तत्कालका लागि यस प्रकारको उपचार लोकप्रिय भएपनि राज्यलाई आर्थिक भार देखिन्छ । चिकित्सककाअनुसार विकसित मुलुकमा एयर एम्बुलेन्स सेवा भए पनि गरिब मुलुकमा यस्तो सेवा देशका लागि आर्थिक बोझ हुन्छ । सरकारले दुर्गमका महिलाको हेलिकप्टर उद्धार गर्नु भन्दा पनि स्थानीय ठाउँमै सविधायुक्त अस्पतालमा लगानी गर्नमा हितकारी हुने देखिन्छ ।

भदौ १० गते बझाङमा हेलिकप्टर चार्टरबाट उपचार गरेकी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत भएको हो । ‘हेलिकप्टर चार्टरबाट उपचार भएकोले उनको ज्यान बचेको हो’ उपचारमा संलग्न चिकित्सक डाक्टर सन्दीप ओखेडाले भने, ‘आर्थिक स्थित कमजोर भएको दुर्गमका लागि हेलिकप्टर चाटर राम्रो मानिए पनि तर, सरकारले आर्थिक भार थाम्न सक्दैन् ।’ । हेलिकप्टर चार्टर मार्फत धामीको उपचारमा ५ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेश सकारले गर्भवति र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने सम्बन्धि कार्यविधि २०७५ बनाएको छ । गर्भवती तथा सुत्केरी महिलाको सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य सेवाको प्रत्याभूति गराउने उद्धेश्यका साथ कार्यविधि बनाएको मन्त्रालयले जनाएको छ ।

एकै व्यक्तिको उपचारमा राज्यको ठूलो रकम खर्च हुने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक बर्ष २०७५/७६ मा ४ जना सुत्केरीका हेलिकप्टर चार्टरबाट उपचार गरेका सामाजिक मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । हेलिकप्टरबाट एक जना भीरबाट खसेको व्यक्तिको समेत उद्धार गरेको उनले बताए । प्रदेश सरकारले बुढीनन्दा नगरपालिका–३ बाजुराकी सेतु लोहार, स्वामिकात्र्तिक नगरपालिका–१ की रजनी विक, खप्तड छेडेदह गाउँपालिका–१ की कल्पना विक र बझाङ थलारा गाउँपलिका–७ की थुमा सार्कीको हेलिकप्टर चार्टरबाट उपचार गराएको हो ।

प्रदेश सरकारले यी व्यक्तिहरुको उपचारमा २१ लाख ६५ हजार बजेट खर्च गरेको छ । प्रदेशको मातृ मृत्युदर घटाउने उदेश्का साथ हेलिकप्टर चार्टरबाट जोखिममा रहेका महिलाहरुको उपचार गर्न कार्यविधि बनाएर अगाडि बढेको हो’ मन्त्रालयका प्रवक्ता झंकर विष्टले भने, ‘तर, खर्चिलो भएकाले प्रदेशमा आधुनिक खालका एम्बुलेन्स खरिद गरेका छन् । त्यसले केहि हदसम्म सहजता ल्याउने छ ।’ प्रदेशको मातृ मृत्युदर हजारमा ४४ जना रहेको छ ।

‘सरकारले तत्कालका लागि हेलिकप्टर चार्टरबाट केहि व्यक्तिहरुको ज्यान जोगाउनु आफैमा राम्रो पक्ष हो’ वरिष्ठ चिकित्सक डाक्टर गणेशबहादुर सिंहले भने, ‘तर, यसले दिगो रुपमा समस्याको समाधान गदैन् ।’सबैको हेलिकप्टर चार्टरबाट उपचार खर्च सरकारले धान्न नसक्ने उनले बताए ।

सरकारले यस्तो हेलिकप्टरमार्फत सुत्केरी उद्धार सुविधा २९ जिल्लामा पूर्ण ढुवानी खर्च र अन्य चार पाँच जिल्लामा आंशिक रुपमा ढुवानी खर्च दिने गरी व्यवस्था गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ