२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रादेशिक अस्पताल : नाम फेरिएपनि सेवा सुधार भएन

प्रादेशिक अस्पताल : नाम फेरिएपनि सेवा सुधार भएन


कैलाली—प्रादेशिक अस्पतालमा स्तरोन्नती भएका सेती र महाकाली अस्पतालको सेवा सुधारका लागि भने सुदूरपश्चिम प्रदेश सरकार अझै उदासिन देखिएको छ । सेती र महाकाली अञ्चल अस्पतालको नाम परिवर्तन गरेको महिनौंसम्म पनि प्रदेश सरकारले सेवा सुधारका लागि कुनै पहल नगरेको हो । स्वास्थ्य सेवा प्रदेश सरकार मातहत आएपछि अस्पतालको साइन बोर्ड फेरिएपनि सेवा सुधारका कुनै काम नभएका हुन् ।

अहिले पनि महाकाली अस्पतालमा जनशक्तिको ठूलो अभाव छ भने भएका दरबन्दी पनि रिक्त छन् । शैय्या अभावले बिरामीहरुलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कायमै रहेको अस्पतालले जनाएको छ । चिकित्सक अभावको समस्याले पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए ।

प्रदेशकै एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था पनि उस्तै छ । अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनाइएको भएपनि आवश्यक पर्ने संरचना, शैय्या, जनशक्ति र उपकरणको व्यवस्थापन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयले नाम परिवर्तन गर्ने निर्णय गरेको एक वर्ष हुनै लाग्दा पनि स्तर वृद्धिको लागि कुनै पहल हुन सकेको छैन ।

सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले स्तरवृद्धिको तयारी भइरहेको भएपनि काम सुरु नभएको बताए । सेती अस्पताल नाममा स्तरोन्नती भएपनि २०४० सालदेखि सेवा स्तरोन्नती भने हुन सकेको छैन् । तर, प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले केही प्रशासनिक समस्याका कारण ढिलाइ भएको बताए ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला सेती प्रादेशिक अस्पताललाई तीन सय र पाँच सय शैय्यामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा भएपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेकै संरचना, शैय्या, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशिक नामाकरण गरेको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ