२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ रक्सी कलेजोको प्रमुख सत्रु

रक्सी कलेजोको प्रमुख सत्रु


प्रा.डा. अनिल मिश्र
कलेजोरोग विशेषज्ञ

कुनै पनि हानिकारक चिजले कलेजोलाई बिगारिदियो भने पाचन प्रक्रियामा नै खराबी हुन्छ । यसले गर्दा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या हुन्छ । मनमा चिडचिडापन आउँछ ।

पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम कलेजोकोे हुन्छ । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ । हरेक घरमा एकजना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो ।

कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजोको प्रमुख शत्रु भनेको मद्यपान(जाड रक्सी सेवन) हो । हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन । ठीक मात्रामा खाएको छ र कलेजोको रोग छैन भने त्यति असर गर्दैन । तर, हाम्रो समाजमा नशा लाग्नका लागि मद्यपान गरिन्छ । रक्सीले कलेजोलाई मात्र होइन, शरीरको सबै अंगलाई खराब गर्छ । यसले नशा, मस्तिष्क सबैलाई बिगार्छ । त्यसका साथै एक्सिडेन्डजस्ता घटना हुन्छ ।

अहिलेको पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने चलन बढेको छ । जसले गर्दा युवाहरू नशा लत बढेर इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् । त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राणघातक रोग सर्छ । हेपाटाइटिस बी, सीजस्ता कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनका माध्यमबाट सर्ने गरेको पाइन्छ । अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

रक्सीले कसरी विग्रन्छ कलेजो ?

नेपालको सबैभन्दा ठूलो कलेजोको समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने रंग फेरिँदै अन्तत ९० प्रतिशतसम्म लिभर खराब हुन्छ । रक्सी खान छोडेमा नर्मल अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ । तर, केही समयका लागि रोकथाम गर्न सकिन्छ । रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्छौँ । यस्तो भएमा ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

कलेजो रोगका लक्षण

  • शरीर पहेँलो हुँदै जाने
  • आँखा पहेँलो हुँदै जाने
  • हातखुट्टा सुन्निने
  • माथिल्लो पेटमा समस्या हुने
  • पेट ढुस्स हुने
  • बान्ता हुने
  • अस्वाभाविक तौल घट्ने
  • कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हँुदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ

के गर्ने ?

  • मदिरापान छाड्ने
  • पोषणयुक्त खाना खाने
  • रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परीक्षण गर्ने
  • कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ