२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरक्सी कलेजोको प्रमुख सत्रु

रक्सी कलेजोको प्रमुख सत्रु


प्रा.डा. अनिल मिश्र
कलेजोरोग विशेषज्ञ

कुनै पनि हानिकारक चिजले कलेजोलाई बिगारिदियो भने पाचन प्रक्रियामा नै खराबी हुन्छ । यसले गर्दा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या हुन्छ । मनमा चिडचिडापन आउँछ ।

पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम कलेजोकोे हुन्छ । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ । हरेक घरमा एकजना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो ।

कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजोको प्रमुख शत्रु भनेको मद्यपान(जाड रक्सी सेवन) हो । हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन । ठीक मात्रामा खाएको छ र कलेजोको रोग छैन भने त्यति असर गर्दैन । तर, हाम्रो समाजमा नशा लाग्नका लागि मद्यपान गरिन्छ । रक्सीले कलेजोलाई मात्र होइन, शरीरको सबै अंगलाई खराब गर्छ । यसले नशा, मस्तिष्क सबैलाई बिगार्छ । त्यसका साथै एक्सिडेन्डजस्ता घटना हुन्छ ।

अहिलेको पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने चलन बढेको छ । जसले गर्दा युवाहरू नशा लत बढेर इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् । त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राणघातक रोग सर्छ । हेपाटाइटिस बी, सीजस्ता कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनका माध्यमबाट सर्ने गरेको पाइन्छ । अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

रक्सीले कसरी विग्रन्छ कलेजो ?

नेपालको सबैभन्दा ठूलो कलेजोको समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने रंग फेरिँदै अन्तत ९० प्रतिशतसम्म लिभर खराब हुन्छ । रक्सी खान छोडेमा नर्मल अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ । तर, केही समयका लागि रोकथाम गर्न सकिन्छ । रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्छौँ । यस्तो भएमा ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

कलेजो रोगका लक्षण

  • शरीर पहेँलो हुँदै जाने
  • आँखा पहेँलो हुँदै जाने
  • हातखुट्टा सुन्निने
  • माथिल्लो पेटमा समस्या हुने
  • पेट ढुस्स हुने
  • बान्ता हुने
  • अस्वाभाविक तौल घट्ने
  • कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हँुदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ

के गर्ने ?

  • मदिरापान छाड्ने
  • पोषणयुक्त खाना खाने
  • रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परीक्षण गर्ने
  • कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ