२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ काम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी


हेटौडा—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बिहीबार हेटौडा अस्पतालको आकस्मिक निरिक्षणमा निस्केका मन्त्री बस्नेतले उक्त चेतावनी दिएका हुन् ।

जनताले गुणस्तरीय उपचार पाउनुपर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै उनले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफूपछि नपर्ने बताए ।

हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा अस्पतालका निर्देशक र चिकित्सकहरुले उनलाई ब्रिफिङ गरेका थिए ।

निरिक्षणपछि मन्त्री बस्नेतले देशभरिका अस्पतालहरुले १० प्रतिशत शैय्या विपन्नका लागि छुट्याएर निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिएका थिए । देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नुपर्छ,’ मन्त्री बस्नेतले भने ।

यस्तै, बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ