२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकाम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी


हेटौडा—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काम नगर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बिहीबार हेटौडा अस्पतालको आकस्मिक निरिक्षणमा निस्केका मन्त्री बस्नेतले उक्त चेतावनी दिएका हुन् ।

जनताले गुणस्तरीय उपचार पाउनुपर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै उनले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफूपछि नपर्ने बताए ।

हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा अस्पतालका निर्देशक र चिकित्सकहरुले उनलाई ब्रिफिङ गरेका थिए ।

निरिक्षणपछि मन्त्री बस्नेतले देशभरिका अस्पतालहरुले १० प्रतिशत शैय्या विपन्नका लागि छुट्याएर निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिएका थिए । देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नुपर्छ,’ मन्त्री बस्नेतले भने ।

यस्तै, बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ