चरिकोट—दोलखाको जिरीमा राजयोगिनी दादी प्रकाशमणिको १८ औं पुण्यतिथि तथा विश्व बंधुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जिरी शाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रगत दिएका छन् ।
सुरक्षाकर्मी, कर्मचारी, राजनीतिकर्मी र सर्वसाधारणसहित स्वयंसेवी रक्तदाताले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका पूर्वसभापति तथा रक्तदान कार्यक्रम संयोजक गोकर्णप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार ‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यले विभिन्न संघ–संस्थाले यस्ता अभियानलाई निरन्तरता दिइरहेका छन् ।
रक्तदान कार्यक्रम ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जिरी शाखाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा र लायन्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । पछिल्लो समय जिल्लामा रक्त अभावको समस्या न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विभिन्न संघ–संस्थाको सहकार्यमा वार्षिक क्यालेन्डरसमेत तयार पारिएको पोखरेलले जानकारी दिए ।