२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना

तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना

स्वास्थ्य संस्थाको भवन छ तर स्वास्थ्यकर्मी र औषधीको व्यवस्था छैन


चरिकोट—दोलखाको विकट बस्तीमा बिरामी पर्दा अझै पनि डोकोमै बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता कायमै छ । विगु गाउँपालिका–१ नाङमा ठाडीका बासिन्दाले वर्षायाममा बिरामीलाई तीन घण्टासम्म बोकेर जगत वा गोंगर पुर्‍याउनुपर्ने समस्या भोग्दै आएका छन् ।

असारदेखि भदौसम्म सडक हिलाम्मे हुँदा सवारी साधन चल्दैनन् । स्थानीय मेघराज तामाङ भन्छन्, ‘वर्षायाममा डोकोमा बिरामी बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउन कम्तीमा तीन घण्टा लाग्छ ।’

सडक निर्माण भएको तीन चार वर्ष बितिसक्दा पनि स्तरोन्नती नहुँदा समस्या ज्यूँकात्यूँ छ । हिउँदमा धुलाम्मे, खाल्डाखुल्डी भएपनि जसोतसो गाडी चल्ने गरेपनि वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुन्छ ।

जगतदेखि नाङमासम्म करिब ९ किलोमिटर सडक भएपनि नियमित सार्वजनिक यातायात सञ्चालनमा छैन । स्थानीयले निजी बोलेरो चलाउने गरेका छन्, तर वर्षायाममा त्यो समेत बन्द हुन्छ । त्यसपछि बिरामी बोकेरै लैजानुपर्ने बाध्यता दोहोरिन्छ ।

नाङमामा स्थानीय पहलमा स्वास्थ्य संस्थाको भवन निर्माण भएको वर्षौं बितिसकेको छ । तर, स्वास्थ्यकर्मी र औषधीको व्यवस्था नहुँदा भवन सधैं बन्द अवस्थामा छ । स्थानीय सुब्बा तामाङ भन्छन्, ‘भवन छ तर स्वास्थ्यकर्मी र औषधि छैन । ताल्चा लगाएर राखेको भवनले के काम गर्छ ?’

सामान्य टाउको दुखाइदेखि जटिल बिरामीसम्मका लागि स्थानीय अहिले पनि गोंगर वा जगतनै धाउन बाध्य छन् । त्यहाँ पनि सामान्य उपचारपछि सिंगटी रिफर गरिन्छ । नाङमाबाट जगत वा गोंगर झर्दा ठाडो ओरालो पर्ने भएकाले बिरामी बोकेर लैजान झनै कठिन हुने स्थानीयको भनाइ छ ।

दुई सयभन्दा बढी घरधुरी रहेको यस बस्तीमा आधारभूत स्वास्थ्य सेवासमेत नियमित रूपमा उपलब्ध छैन । वर्षायाममा सुत्केरी गराउनसमेत बोकेरै स्वास्थ्य संस्था पु¥याउनुपर्ने अवस्था छ । मेघराज भन्छन्, ‘सामान्य बिरामी बोकेर लैजान सहज भएपनि गर्भवती र जटिल बिरामीलाई लैजान निकै गाह्रो हुन्छ ।’

चुनावका बेला नेताहरू गाउँमा पुगेर समस्या समाधानको आश्वासन दिने तर जितेपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ । ‘हामीले ठूलो माग गरेका छैनौं,’ एक स्थानीय भन्छन्, ‘सडक राम्रो बनाइदिनुपर्‍यो, स्वास्थ्यकर्मीको व्यवस्था गरिदिनुपर्‍यो भनेकै हो । गाउँमै सामान्य उपचार पाउने वातावरण बनाइदिनुपर्‍यो ।’

विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीकाअनुसार नाङमामा पहिले गाउँघर क्लिनिक सञ्चालनमा थियो । हाल भने विद्यालय नजिकै महिनामा एकपटक मात्र सामान्य उपचार सेवा दिइँदै आएको छ । ‘गाउँ कार्यपालिकाले निर्णय गरे नियमित रूपमा स्वास्थ्यकर्मी खटाउन सकिन्छ,’ थामीले भने ।

घना बस्ती भएको नाङमामा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने कानुनी व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयन नहुँदा स्थानीय जोखिमपूर्ण जीवन बिताउन बाध्य छन् । सडक स्तरोन्नती र स्वास्थ्यकर्मी व्यवस्थापनतर्फ सम्बन्धित निकायले शीघ्र पहल नगरे दुर्गम बस्तीका नागरिकले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था अझै लम्बिने देखिन्छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ