जुम्ला—जिल्ला अस्पताल जाजरकोटमा पछिल्लो तीन महिनादेखि अत्यावश्यक औषधिको अभाव हुँदा उपचारका लागि आउने बिरामीहरू समस्यामा परेका छन् । सरोकारवाला निकायको लापरवाहीका कारण औषधि आपूर्ति हुन नसक्दा बिरामीहरूले सास्ती खेप्नु परेको हो ।
१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालले नेपालगञ्ज, सुर्खेतलगायतका सुविधासम्पन्न अस्पतालसरह सेवा दिनुपर्ने भएपनि औषधि अभावका कारण सामान्यदेखि जटिल रोगका बिरामीसमेत उपचार नपाएर फर्किन बाध्य छन् ।
भेरी नगरपालिका–१३ की शान्ता शर्माले उपचारका लागि अस्पताल पुगे पनि औषधि नपाउँदा खाली हात फर्किनु परेको गुनासो गरिन् । उनले सरोकारवाला निकाय र अस्पताल व्यवस्थापन समितिको लापरवाहीका कारण नागरिक मर्कामा परेको बताइन् ।
त्यस्तै, भेरी नगरपालिका–४ की रिता शाहले अस्पतालमा आवश्यक औषधि नपाउँदा बिरामीहरू जिल्ला बाहिर उपचारका लागि जान बाध्य भएको बताइन् । उनका अनुसार श्वासप्रश्वास, मुटु तथा सामान्य रोग सम्बन्धी औषधिको अभाव छ ।
अस्पतालमा सेरोफ्लो २ सय ५० एमसिजी, टाइभा १ सय ८० एमसिजी, ब्रुफेन, कोडोपार, रोजुभास्टाटिन १० मिलिग्राम तथा पारासिटामोल इन्जेक्सनलगायतका औषधि अभाव भएको जनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले औषधिको व्यवस्थापनका लागि समयमै टेन्डर गरेपनि सप्लाई हुन ढिला भएको बताए । सप्लायर्सलाई ताकेता गरेको उनको भनाइ छ ।
७ वटा स्थानीय तहका लागि एक मात्र ५० शय्याको अस्पतालमा सेवा लिन आउने बिरामीले औषधि नपाउँदा विशेषगरी आर्थिक रुपमा विपन्न भएका नागरिक, दलित तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिक उपचारबाट वञ्चित हुने अवस्था रहेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने औषधि समेत बिरामीले निजी पसलबाट किन्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा सम्बन्धित निकायको ढिलासुस्ती र बेवास्ताका कारण औषधि आपूर्ति प्रभावित भएको स्थानीयको आरोप छ ।