२०८३ साउन ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा

कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा

सर्वेक्षणका क्रममा १०० घरमध्ये ९० घरमा डेंङ्गी सार्ने लामखुट्टेको लार्भा तथा अन्य अवस्थाका जीवाणु भेटिए


वीरेन्द्रनगर—कर्णाली प्रदेशका दुई जिल्लामा डेंङ्गीको जोखिम उच्च देखिएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र रुकुमपश्चिममा डेंङ्गी संक्रमणको जोखिम बढेको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०८२ साल साउनदेखि २०८३ साल असारसम्मको अवधिमा प्रदेशभर तीन हजार नौ सय ८३ जनामा डेंङ्गी संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुर्खेतका तीन हजार पाँच सय ७९ जना, रुकुमपश्चिममा तीन सय ५७ जना छन् । यस्तै, दैलेखमा २८ जना, सल्यानमा २८ जना, कालीकोटमा नौ जना, मुगुमा चार जना, जाजरकोटमा तीन जना, जुम्लामा तीन जना, डोल्पामा तीन जना र हुम्लामा दुई जनामा डेंङ्गी संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रशासन शाखा अधिकृत श्यामलाल आचार्यले बताए ।

उनले प्रदेशका सबै जिल्लामा डेंङ्गीका बिरामी भेटिएपनि सुर्खेत र रुकुमपश्चिममा संक्रमणको दर तुलनात्मक रुपमा बढी रहेको जानकारी दिए । ‘पछिल्लो समय लामखुट्टेको बासस्थान र संक्रमणको अवस्था पहिचान गर्न विभिन्न स्थानमा खोज तथा निगरानीको कामसमेत भइरहेको छ,’ उनले भने, ‘रुकुमपश्चिमको एक गाउँमा डेंङ्गी रोग सार्ने लामखुट्टेको अवस्थाबारे गरिएको खोज तथा सर्वेक्षणका क्रममा एक सय घरमध्ये ९० घरमा डेंङ्गी सार्ने लामखुट्टेको लार्भा तथा अन्य अवस्थाका जीवाणु भेटिएका थिए ।’

रुकुमपश्चिममा पछिल्लो समय डेंङ्गीको जोखिम थप बढ्दै गएको र ठूलो संख्यामा घरमा डेंङ्गी सार्ने लामखुट्टेको उपस्थिति भेटिनुले जिल्लामा संक्रमणको जोखिम उच्च रहेको देखिएको आचार्यले बताए ।

सुर्खेतमा पनि डेंङ्गीका बिरामीको संख्या बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेंङ्गी संक्रमण नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा आवश्यक सचेतना तथा रोकथामका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले अनुसार डेंङ्गी नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

‘डेंङ्गीबाट बच्न घरआँगन तथा वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक हुन्छ,’ उनले भने, ‘लामखुट्टेको वृद्धि हुने सम्भावित स्थान पहिचान गरी पानी हटाउने, भाँडाकुँडा सफा गर्ने तथा समुदायस्तरमा सरसफाइ अभियान सञ्चालन गर्न सके संक्रमणको जोखिम घटाउन सकिन्छ ।’

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा समेत पछिल्लो समय डेंङ्गी संक्रमण देखिन थालेपछि लामखुट्टेजन्य रोग नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय आवश्यक देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । वर्षायाम तथा त्यसपछि लामखुट्टेको संख्या बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नियमित खोज तथा नष्ट अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ