स्याङ्जा—विरुवा गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा १ हजार ५७४ जनाले सेवा लिएका छन् । बीएम फाउण्डेशनको आयोजना, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) र बिरुवा गाउँपालिकाको सहयोग तथा बी.पी. आई फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालित दुई चरणको निःशुल्क आँखा शिविरबाट १ हजार ५७४ जनाले सेवा लिएका हुन् ।
दुवै चरणमा पहिचान भएका बिरामीमध्ये १२४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार करिब चार महिनाअघि पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ६ मा ५७४ जनाको आँखा परीक्षण गरिएको थियो । सेवाग्राहीलाई आवश्यकताअनुसार निःशुल्क चश्मा र औषधिसमेत वितरण गरिएको थियो । त्यही क्रममा ४० जनामा मोतियाबिन्दुको शल्यक्रिया आवश्यक देखिएको थियो ।
पहिलो चरणमा पहिचान भएका बिरामीलाई उपचार उपलब्ध गराउन र बाँकी वडाका बासिन्दाको आँखा परीक्षण गर्न दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए ।

विश्व दृष्टि दिवस २०२६ को अवसरमा अक्टोबर ७ देखि १० सम्म सञ्चालित पछिल्लो कार्यक्रममा वडा नम्बर ७, ८, २ र ५ मा करिब एक हजार जनाको आँखा जाँच गरिएको थियो । आँखा परीक्षणसँगै निःशुल्क औषधि, चस्मा र आँखा स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराइएको थियो ।
अक्टोबर ९ र १० मा वडा नम्बर ६ स्थित चिन्नेवास अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । पहिलो चरणमा शल्यक्रिया आवश्यक देखिएका ४० जना र दोस्रो चरणमा पहिचान भएका बिरामीमध्ये गरी कुल १२४ जनाको शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए।
मोतियाबिन्दु र नजिकको दृष्टिसम्बन्धी समस्या बढी
डा. श्रेष्ठका अनुसार आँखा परीक्षणमा करिब ३०० जनामा मोतियाबिन्दु र ६०० जनामा उमेरसँगै नजिकको वस्तु स्पष्ट देख्न कठिन हुने समस्या ‘प्रेस बायोपिया’ भेटिएको थियो ।
त्यस्तै, करिब ५० जनामा आँखा सुख्खा हुने समस्या, १०० जनामा आँखाको सेतो भागमा पहेँलो उठेको धब्बा देखिने ‘पिङ्ग्वेकुला’ र २० जनामा आँखामा मासु पलाउने ‘टेरिजियम’ पहिचान भएको थियो ।
कार्यक्रममा नियमित आँखा जाँच, समस्याको प्रारम्भिक पहिचान र समयमै उपचारको महत्त्वबारे जानकारी दिइएको थियो । फाउण्डेशनले शिविर सम्पन्न गर्न योगदान गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।