२०८३ मंसिर ११, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने

शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने


चरिकोट—दोलखाको शैलुङ गाउँपालिका–३ स्थित शैलुङ अस्पतालको नवनिर्मित भवन उद्घाटनको अवसरमा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई विशेष सम्मान गरिएको छ । ग्रामीण भेगका नागरिकलाई गाउँमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सम्पन्न भएको उक्त अस्पतालका लागि १३.५ रोपनी जग्गा दान गर्ने पाँच जना दाताहरूलाई सम्मान गरिएको हो ।

भवन उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले जग्गादाताहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित हुने जग्गादाताहरूमा ४ रोपनी जग्गा दान गर्ने सिद्धी श्रेष्ठ, ३.५ रोपनी जग्गा दान गर्ने छत्रबहादुर श्रेष्ठ, र २–२ रोपनी जग्गा दान गर्ने स्व. कृष्ण कुमारी श्रेष्ठ, सन्त कुमारी श्रेष्ठ तथा छेत्रबहादुर श्रेष्ठ रहेका छन् ।

समारोहमा बोल्दै वक्ताहरूले जग्गादाताहरूको उदारता र सामाजिक उत्तरदायित्वकै कारण सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्न सम्भव भएको बताए । दाताहरूले प्रदान गरेको १३.५ रोपनी जग्गामा आधुनिक भौतिक संरचना तयार भएसँगै अब स्थानीय बासिन्दाले घरआँगनमै भरपर्दो स्वास्थ्य उपचार पाउने मार्ग प्रशस्त भएको छ ।

कार्यक्रमको अध्यक्षता गरेका शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले मन्तव्यका क्रममा स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क हुनुपर्नेमा जोड दिँदै नेपाल सरकारले तोकेको र उपलब्ध गराएको ९८ प्रकारका औषधि बिरामीले चाहेको समयमा अस्पतालबाटै सहज रूपमा पाउने व्यवस्था मिलाइने स्पष्ट पारे ।

अध्यक्ष श्रेष्ठले अस्पतालको सेवा विस्तारसम्बन्धी आगामी योजनाहरू सार्वजनिक गर्दै भने, ‘अब सामान्य उपचारका लागि पनि चरिकोट, धुलिखेल र काठमाडौँ धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुनेछ । हामी अस्पतालको बर्थिङ सेन्टरलाई थप व्यवस्थित बनाउँदैछौँ भने अस्पतालबाटै एक्सरे, इसिजी र आधुनिक ल्याब सेवा सञ्चालनमा ल्याउनेछौँ ।’

यसैगरी, नागरिकको आर्थिक भार कम गर्न स्वास्थ्य बीमासँग सम्बन्धित सम्पूर्ण सेवाहरू यसै अस्पतालबाट प्रवाह गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । आँखाका बिरामीहरूको सहजताका लागि अस्पताल परिसरमै आँखा अस्पतालको शाखा स्थापना गरी उपचार सेवा उपलब्ध गराइने उनको भनाइ छ । आँखा अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ । साथै, आकस्मिक तथा कानुनी प्रक्रियाका लागि आवश्यक पर्ने शव परीक्षण (पोस्टमार्टम) सेवासमेत सकेसम्म यही अस्पतालबाट उपलब्ध गराउने गरी व्यवस्था मिलाउन लागिएको उनले प्रतिबद्धता जनाए ।

शैलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुबहादुर कार्कीले पोस्टमार्टम सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी भइसकेको जानकारी दिए । उनका अनुसार अस्पताल भवनको छेउमै छुट्टै पोस्टमार्टम घरसमेत निर्माण सम्पन्न भइसकेको छ, जसले गर्दा आगामी दिनमा स्थानीय स्तरमै उक्त सेवा दिन सहज हुनेछ ।

गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती थापा, विभिन्न वडाका वडाअध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । अस्पताल सञ्चालनमा आएसँगै शैलुङ गाउँपालिका र आसपासका क्षेत्रका हजारौँ बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ