२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशतनहुँमा बिहे भोज खाएका ५० बढी बिरामी, कोरोना कि फुड पोइजन ?

तनहुँमा बिहे भोज खाएका ५० बढी बिरामी, कोरोना कि फुड पोइजन ?


पोखरा – तनहुँको व्यास नगरपालिका १४ छाब्दीस्थित शरणहरि पन्थको घरमा बिहे भोज खाएर फर्किका पाहुना बिरामी परेका छन् । बिहेको भोलिपल्ट शनिबार आयोजना गरिएको प्रीतिभोजमा दिउँसो खाना खाएकाहरु बढी बिरामी परेको स्थानीयले बताएका छन् । उनीहरुमा उच्च ज्वरो आउने, झाडापखाला हुने, वान्ता हुने, काम्ने जस्ता लक्षण देखिएका छन् ।

भोज खाएकाहरु बिरामी परेपछि छाब्दीस्थित सहरी स्वास्थ्य केन्द्र छाब्दीमा जाँचका लागि पुगेका छन् । स्वास्थ्य केन्द्र इन्चार्ज पद्मा श्रेष्ठले ५०÷६० जनाको स्वास्थ्य जाँच गरिएको बताइन् । तीमध्ये २ जनामा मलेरियाको शंकाले जाँच गरिएको केन्द्र इन्चार्ज श्रेष्ठले स्पष्ट पारिन् । उनका अनुसार रिपोर्ट भने नेगेटिभ आएको छ ।

इन्चार्ज श्रेष्ठले भनिन्, ‘म भोजस्थलमा त पुगेको छैन, सुने अनुसार भोजमा गएका सबैमा कुनै न कुनै प्रकारको समस्या देखिएको छ ।’ बिराममीमध्ये १ जना पोखरा र १ जना दमौलीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको सुनेको उनले बताइन् । छाब्दी १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले आफू भोजस्थल नपुगेको तर त्यसबारे सुनेको उल्लेख गरे ।

कोरोनाको दोस्रो लहर चलिरहेका बेला भीडभाडसहित भोज खाएकामा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । नगरपालिका स्वास्थ्य प्रमुख प्रमोद सोतीले ५÷६ जनाको सोमबार पिसिआर जाँच गर्न लागिएको जानकारी दिए । उनका अनुसार स्थानीय स्वास्थ्यकर्मीले ४ जनालाई स्लाइन लगाएर उपचार गरेका थिए । सोती भन्छन्, ‘मान्छेहरुले अटेरी गरेका छन्, पिसिआर जाँच गरेपछि कोरोना हो वा होइन भन्ने यकीन हुनेछ ।’ यस्तै लापरबाही गरिएमा कोरोना संक्रमण भयावह हुनसक्ने उनले बताए ।

‘सम्झाउँदा सम्झाउँदा हामी वाक्क भइसक्यौं, टेर्दैनन्,’ उनले भने, ‘पछि समस्या देखिएपछि आत्तिने गर्छन्, लापरबाहीले पछि जटिल अवस्था आउन सक्छ, सचेत हुन आवश्यक छ ।’ फुड पोइजन पनि भएको हुनसक्ने सोतीको तर्क थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ