२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिड–१९ संक्रमण घट्दै, स्वास्थ्य सामाग्री र उपकरण जुट्दै

कोभिड–१९ संक्रमण घट्दै, स्वास्थ्य सामाग्री र उपकरण जुट्दै


पोखरा—गण्डकी प्रदेशमा कोभिड—१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री र सहयोग जुटिरहेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको आँकडाअनुसार तत्कालका लागि कोभिड—१९ संक्रमण दर घटेको देखिएको छ ।

निर्देशनालयकाअनुसार शुक्रबार १८४, बिहीबार ३३३, बुधबार ४०८ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक हेर्दा संक्रमितको संख्या दिनप्रतिदिन घटेको देखिन्छ ।

शुक्रबार ११, बिहीबार ४ र बुधबार ७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । यस्तै, प्रदेशमा कोभिड–१९ मुक्त हुनेको संख्या पनि संक्रमितको भन्दै उल्लेखनीय बढी देखिएको छ । शुक्रबार ५१३, बिहीबार ५६६ र बुधबार ५२५ जना कोभिड–१९ मुक्त भएका छन् ।

तत्कालका लागि कोभिड–१९ संक्रमितको चाप कम भएपनि तेस्रो लहर आउने हल्लाकाबीच स्वास्थ्य संस्थाहरुले पूर्व तयारीतर्फ चासो दिनुपर्ने दबाब भने कायमै छ । यसैबीच विभिन्न संस्था तथा व्यक्तिबाट स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरण सहयोग दिने क्रम बढिरहेको छ ।

अमेरिकाको कार्टर पिलर फाउन्डेसन र एसिस्ट इन्टरनेसनलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ थान भेन्टिलेटर, सक्सेन मेसिन, प्यासेन्ट मेसिनसहित करिब १५ लाख बराबरको सहयोग उपलब्ध गराएको छ ।

यस्तै, कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान कन्सन्ट्रेटरमध्ये ५ थान क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो ।

लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा १३ लाख बराबरको कोभिड–१९ उपकरण प्रदान गरिएको छ । यस्तै, रुपा र बेगनास स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, मास्क, सेनिटाइजरलगायत सामाग्री प्रदान गरिएको भिजन एन्ड भ्यालुका निर्देशक पदमराज पौडेलले बताए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । प्रदेश सरकारमार्फत आवश्यकताका आधारमा वितरण गर्ने गरी अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको युएनडिपीले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका– ५ झोवाङ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । जोय फाउन्डेशनको सहयोगमा १ थान कन्सन्ट्रेटर प्रदान गरिएको सांसद पहारीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले गोरखाको बारपाकमा अक्सिजन मिनीप्लान्ट स्थापना गरेको छ । करिब ३० लाख लागतमा उक्त प्लान्ट स्थापना गरिएको हो । १२ वटा बेडमा अक्सिजन दिन सक्ने उक्त प्लान्टका लागि आवश्यक उपकरण तथा जडान खर्च आविष्कार केन्द्रले नै व्यहोरेको बताइएको छ । यसअघि पहिलोपटक स्याङ्जाको भीरकोट नगर अस्पतालमा अक्सिजन मिनी प्लान्ट स्थापना गरिएको थियो । त्यहाँका लागि नगरपालिका र आविष्कार केन्द्रले ५०/५० प्रतिशत खर्च व्यहोर्ने गरी निर्माण गरिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार ५ वटा भेन्टिलेटर इन्स्टलेसनको तयारी भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्र र अन्य दाताहरुको सहयोगमा भेन्टिलेटर स्थापना गर्न लागिएको डा. सन्तोष सापकोटाले जानकारी दिए । उनका अनुसार डाक्टर र नर्सहरुका लागि ट्रेनिङसमेत सञ्चालन गरिने भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ