२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारीको जागिर खोसियो

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारीको जागिर खोसियो


पोखरा—तनहुँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका निलम्बनमा परेका ४ कर्मचारीको जागिर खोसिएको छ । गत १७ जेठदेखि निलम्बनमा परेका उनीहरुलाई ७ असारको निर्णयबाट पदमुक्त गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको नियम विपरित पिसिआर रिपोर्ट छिटो ल्याइदिने भन्दै १२ जेठमा सेवाग्राहीसँग उनीहरुले चर्काे शुल्क लिएको आरोप लागेको थियो । गुनासो अस्पताल प्रशासनमा पुगेलगत्तै उनीहरु निलम्बनमा परेका थिए ।

सेवाग्राहीको गुनासो आउनासाथ कारबाहीको टुंगो नलागेसम्मका लागि अस्पतालका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले चारै जनालाई निलम्बन गरेका थिए । निर्देशक श्रेष्ठका अनुसार उनीहरुले १७ जना सेवाग्राहीसँग जनही ३ हजारका दरले शुल्क उठाएका थिए ।

कारबाहीमा पर्ने सबै करारमा कार्यरत रहेको अस्पतालले जनाएको छ । उनीहरुसँग सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि करार सम्झौता खारेज गरिएको अस्पतालका निर्देशक श्रेष्ठले सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।

करार रद्ध भएका कर्मचारीहरुमा फार्मेसिस्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठ छन् ।

अस्पतालले दिएको जानकारीअनुसार कारबाहीमा परेका कर्मचारीबाट पटक—पटक अवाञ्छित क्रियाकलाप हुने गरेका थिए । उनीहरुले निलम्बन भएको १७ जेठदेखि नै तलब सुविधा पाउने छैनन् ।

यसअघि अस्पतालका निर्देशक श्रेष्ठले बोर्ड तत्काल बस्न सक्ने अवस्था नरहेको र बोर्ड नबसी कारबाही अघि नबढ्ने बताएका थिए । तर, निर्देशक श्रेष्ठले बोर्ड तत्काल बस्ने अवस्था नरहेकाले बोर्डसँगको अनौपचारिक छलफलपछि कर्मचारीमाथि कारबाही गरिएको उल्लेख गरे ।
कर्मचारीमाथि कारबाही गर्न र नगर्न दोहोरो दबाव निर्देशक श्रेष्ठमाथि आउने गरेको स्रोतको दाबी छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ