२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्रोत साधनको अभावमै जटिल शल्यक्रियाबाट मध्यविन्दु अस्पतालमा प्रसुती गराइयो

स्रोत साधनको अभावमै जटिल शल्यक्रियाबाट मध्यविन्दु अस्पतालमा प्रसुती गराइयो

विकल्प नै नभएपछि जटिल शल्यक्रिया गरिएको डाक्टरको भनाइ


पोखरा—मध्यविन्दु जिल्ला अस्पताल नवलपरासीमा जटिल खालको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका एमडिजिपी डा. कमलराज न्यौपाने तथा उनको टिमले पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरी प्रसुती गराएको हो ।

कावासोती–१२ की २६ वर्षीया मधु सुनारको गर्भमा ४० हप्ता ४ दिनको शिशु रहेको थियो । उनमा जटिल लक्षण इक्लाम्प्सिया देखिएको थियो । ‘बाटो बन्द भएकाले अन्यत्र पठाउने अवस्था पनि भएन्,’ अस्पतालका सुपरिटेन्डेन्ट वीरबहादुर थापाले भने, ‘बिरामी लगभग अचेत अवस्थातर्फ पुगिसक्नुभएको थियो । शल्यक्रिया गर्नुको विकल्प पनि थिएन ।’ पेडियाट्रिक डा.ऋषिकेश रेग्मी भएकाले बच्चा केयरिङमा सहज भएको उनको भनाइ थियो ।

आमा बच्चाको सुरक्षालाई ध्यानमा राखेर अस्पतालका डाक्टरले शल्यक्रियामार्फत् सुरक्षित प्रसुती गराएका हुन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नवजात शिशुको जन्मदाको तौल ३.३ केजी रहेको थियो ।

सुपरिटेन्डेन्ट डा. थापाका अनुसार अस्पतालमा पूर्ण रुपमा शल्यक्रिया सेवा दिन भने अझै धेरै समय लाग्न सक्छ । उनले भने, ‘हामीसँग जिए मेसिन पनि छैन, आउँदै छ । एनेस्थेसियालोजिस्ट पनि छैन । गाइनेक्लोजिस्ट पनि छैन । फुल फेज हुन त सबै हुनुप¥यो । एनेस्थेसिया एसिस्टेन्ट हुनुहुन्छ हाम्रोमा ।’ गत वर्षको बजेटबाट एनेस्थेसिया मेसिनहरु टेन्डर भएको, आशयपत्र पनि भइसकेको र यो महिनाभित्र आइपुग्ने उनले बताए ।

अहिले मध्यविन्दु अस्पताल कोभिड–१९ डेडिकेडेट अस्पताल भएका कारण प्रसुती सेवा लिन आउनेमा कमी आएको छ । प्रसुती सेवामा संलग्न नर्स नम्रता तिमिल्सिनाका अनुसार कोभिड–१९ कहरभन्दा अघि मासिक १०/१५ जनाले प्रसुती सेवा लिने गरेका थिए । ‘यहाँ शल्यक्रिया गरी उपचार गर्न सकिने अवस्था नभएकाले धेरै जाने बुझेकाहरु त सिधै भरतपुर जाने गर्नुहुन्थ्यो । हामीले सामान्य प्रसुतिमात्रै गराउने गरेका थियौं,’ उनले भनिन् ।

यसअघि अस्पतालमा १५ वैशाखमा ६४ वर्षीय पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको थियो । हर्नियाको शल्यक्रिया नर्मल मानिन्छ । १८ असारमा गरिएको प्रसुती सम्बन्धी शल्यक्रिया भने जटिल प्रकृतिको हो । अस्पतालका सुपरिटेन्डेन्ट थापाले एपेन्डिक्स र हर्नियाका अन्य बिरामीको पनि शल्यक्रियामार्फत सफल उपचार गरिएको जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #डा. कमलराज न्यौपाने, #डा. वीरबहादुर थापा, #डा.ऋषिकेश रेग्मी, #मध्यविन्दु अस्पताल, #शल्यक्रिया


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ