२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रमितबाटै पीडा र अनुभव सुन्नुहोस्, लापरबाही नगर्नुहोस् : स्वास्थ्य निर्देशनालय

संक्रमितबाटै पीडा र अनुभव सुन्नुहोस्, लापरबाही नगर्नुहोस् : स्वास्थ्य निर्देशनालय


पोखरा – कोभिड-१९को नयाँ भेरियन्ट आउने हल्लाबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रमणदर बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

निर्देशनालयले सूचनामा भनेको छ,‘ कोरोना संक्रमणको दर बिस्तारै उकालो लाग्दै छ, कोरोना संक्रमण बढ्ने, घट्ने तपाईं हाम्रै बानी व्यवहारमा आधारित हुन्छन्, त्यसैले मास्कको अनिवार्य प्रयोग गरौं, स्वास्थ्यका मापदण्डहरुलाई अनिवार्य अनुशरण गरौं ।’

निषेधाज्ञा खुकुलो बन्दै गर्दा लापरबाही भने बढिरहेको छ । पछिल्लो समय सहरी तथा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण तीव्र भएको स्वास्थ्यकर्मी तथा स्थानीय जन प्रतिनिधिको भनाइ छ । गाउँ-गाउँका बिरामीमा परीक्षण रिपोर्ट पोजेटिभ आए पनि जटिल समस्या नभएका कारण अस्पतालमा तुलनात्मक रुपमा चाप कम नै देखिएको छ ।

सुरक्षित रहन मास्क र सेनिटाइजरमा लापरबाही नगर्नसमेत निर्देशनालयको आग्रह छ ।

निर्देशनालयले मास्कको महत्व प्रष्ट पार्न संक्रमित आफन्त वा छिमेकीको पीडा सुन्न सुझाएको छ । र, त्यो पीडा भोग्न नपरोस् भन्नका लागि मास्कको उपयुक्त ढंगले प्रयोग गर्न आग्रह गरेको छ । निर्देशनालयले भनेको छ, ‘एकपटक कोभिड संक्रमणबाट ग्रसित हुनुभएका तपाईका आफन्त वा छिमेकीलाई फोन गरेर सन्चो बिसन्चो के छ भनी सोध्नुहोस्, उहाँले नै बताइदिनुहुन्छ कोरोना संक्रमणको पीडा अनि सँगसँगै किन हुँदो रहेछ मास्कको महत्व ।’

निर्देशनालयले गण्डकीमा सोमबार ५७७ संक्रमित भएको र ५ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो । जसमध्ये कास्कीका १०२ महिला र ९४ पुरुष गरी १९६ जना थिए ।

यस्तै, आइतबार ५१० जना कोभिड  संक्रमित थपिएका थिए भने ८ जनाको ज्यान गएको थियो । यसैबीच कास्की प्रहरीले सञ्चालन गरेको साताव्यापी कार्यक्रम ‘ स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’ मा मास्क नलगाउने १ हजार ३ सय ३७ लाई कारबाही गरेको छ ।

कारबाहीबाट १ लाख ३३ हजार ७ सय राजस्व संकलन भएको थियो । साताभरमा ६ हजार ७ सय १७ जनालाई सम्झाइ बुझाइ गरिएको कास्की प्रहरीले जनाएको छ । यो त सहरी मुख्य चोकहरुमा मात्रै भएको कारबाही हो, प्रहरीका आँखा छल्नासाथ मास्क उतार्ने लापरबाही अझै पनि जतातजै देखिएको छ । कोभिड-१९ खोप लगाउने केन्द्रहरुमै पनि भिडभाड देखिन्छ ।

यस्तै, बागलुङमा पनि प्रहरीले मास्क अभियान सञ्चालन गरेको छ । चिकित्सकहरुले कोभिड १९ को नयाँ भेरियन्ट आए अवस्था थप जटिल हुनेतर्फ सचेत गराएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्न र लापरबाही नगर्न सुझाएका छन् ।

संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका निर्देशक विकास गौचन करिब १ हप्ता बिरामीको चाप कम भएको भए पनि फेरि बढेको बताउँछन् । अहिले उक्त अस्पतालमा ४६ जना कोभिड संक्रमित बिरामी भर्ना भएका छन् । उनका अनुसार बिरामी चाप कम हुँदा ७० सिलिन्डर अक्सिजनले पुगेकोमा अहिले चाप बढेपछि १२० को हाराहारीमा खपत हुने गरेको छ ।

बिरामी चाप बढे अक्सिजन आपूर्तिमा कठिनाइ देखिन सक्छ । दाताबाट प्राप्त अक्सिजन प्लान्ट सञ्चालन गर्न विद्युत वायरिङ, ट्रान्सफर्मरलगायत पूर्वाधार तयार पार्नुपर्ने भएकाले प्लान्ट सञ्चालन गर्न नसकिएको निर्देशक गौचनले जानकारी दिए । उक्त प्लान्ट सञ्चालनमा आए पनि सिलिन्डर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

प्लान्टबाट २० देखि २४ सिलिन्डर दैनिक उत्पादन भए पनि बिरामी चाप उच्च हुँदा अहिलेको अवस्थामा १ सय सिलिन्डर अक्सिजन अपुग हुन्छ । बिरामीको चाप दिनप्रदिन बढिरहेकै छ ।

लमजुङ जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठ कोभिड संक्रमितको अवस्था थैग्नै नसक्ने खालको नभए पनि बढिरहेको बताउँछन् । उनका अनुसार आइतबार ४ जना कोभिड बिरामी र १६ जना फिबरका बिरामी भर्ना भएका छन् । फिबरका बिरामीमा एन्टिजेन जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । प्रमुख श्रेष्ठका अनुसार आइतबारमात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापा कोरोनाका बिरामीको चाप बढिरहेको बताउँछन् । उनकाअनुसार अस्पतालमा १७ जना कोभिड बिरामी भर्ना भएका छन् । अक्सिजन प्लान्ट सञ्चालनमा आएको र सिलिन्डर अक्सिजन आपूर्ति पनि राम्रो अवस्थामा रहेकाले अक्सिजन अभाव नहुने उनको विश्वास छ ।

धौलागिरी उपप्रादेशिक अस्पतालमा अक्सिजन चाहिने ६ जना बिरामीमात्रै भर्ना गरिएको र २ जना आइसियुमा रहेको अस्पतालका नि. सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितको संख्या जिल्लामा बढिरहेको छ । करिब ६ सय सक्रिय केस रहेका छन् ।

धौलागिरी अस्पतालमा पुरानो अक्सिजन प्लान्ट भए पनि बिरामी चाप बढ्दा अपुग हुने र सिलिन्डर अक्सिजन पोखरामा भरेर ल्याउनुपर्ने अवस्था थियो । यही अवस्था मध्यनजर गरी दैनिक १ सय ७५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीस्वरुप टेन्डर र सम्झौता गरिएको उनको भनाइ थियो । उक्त प्लान्टबाट १ सय सिलिन्डर दैनिक रुपमा भर्न सकिने बताइएको छ । करिब डेढ महिनामा प्लान्ट स्थापना हुने उनको अनुमान छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ