२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा नसर्ने रोग प्रयोगशाला स्थापना

गण्डकीमा नसर्ने रोग प्रयोगशाला स्थापना


पोखरा – प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीले नसर्ने रोग प्रयोगशाला शाखा स्थापना गरेको छ । प्रयोगशाला शाखा स्थापनाका लागि १ करोडभन्दा बढी खर्च भएको गण्डकी प्रदेश प्रयोगशालाका नि. निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

यसअघि कोभिड-१९ को मात्र जाँच गरिरहेको प्रदेश प्रयोगशालाले अब भने नसर्ने रोगको पनि परीक्षण गर्ने भएको हो । निर्देशक सुवेदीका अनुसार तत्काल नसर्ने रोगसम्बन्धी १९ प्रकारका परीक्षण हुनेछन् । केही आवश्यक किटलगायत सामग्री आएपछि सेवा बिस्तार गरिने उनले स्पष्ट पारिन् ।

निर्देशक सुवेदीले भनिन्,‘अहिले तत्काल स्पेसल टेस्टलाई फोकस गरेका छौं । महँगोमा बाहिर सेवा लिनुपर्ने बाध्यतामा परेका सर्वसाधारणलाई सस्तो दरमा सेवा दिने उद्देश्यले प्रयोगशाला शाखा सञ्चालन गरिएको हो ।’

संक्रामक रोगसम्बन्धीको जाँच क्षयरोग केन्द्रबाट गरिने र नसर्नेसम्बन्धी प्रयोगशाला सेवा प्रशासनिक भवनबाट दिन लागिएको छ । अब भने थाइराइड, भिटामिन, ट्युमरलगायत परीक्षणका लागि सर्वसाधारणले महँगो शुल्क तिरेर निजी ल्याबमा जानुपर्ने बाध्यता हट्नेछ । निजी प्रयोगशालाको तुलनामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत सञ्चालित नसर्ने रोग प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत सस्तो पर्ने बताइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले आइतबार ल्याब उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रमका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोदविन्दु शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. रामबहादुर केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्री, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रमेश अधिकारी, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचन, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, मितेरी अस्पतालका मेसु पुष्कर पौडेल, क्षयरोग उपचार केन्द्र कास्कीका नि.निर्देशक रवीन्द्र बस्ताकोटी, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यलगायत उपस्थित थिए ।

क्षेत्रीय क्षयरोग केन्द्रमा सञ्चालन गरिएको कोभिड प्रयोगशालामा १ लाख ६० हजारभन्दा बढी पिसिआर जाँच गरिएको निर्देशक सुवेदीले जानकारी दिइन । अहिले भाडाको भवनबाट सेवा सञ्चालन गरिने भए पनि छिट्टै आफ्नै भवनबाट सेवा दिइने बताइएको छ । प्रयोगशालाको लागि पोखरा ३० शिशुवामा नयाँ भवन निर्माण थालिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ