२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच

बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच


पोखरा –  बागलुङको लोकतान्त्रिक चोकमा एक समूह आइपुग्यो । समूहमा प्रहरी, पिपिई लगाएका स्वास्थ्यकर्मीलगायत अन्य मानिस पनि थिए ।

बागलुङमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । बिहान १० बजेसम्ममात्र हिँडडुल गर्न र आवश्यक सामग्री व्यवस्थापन गर्न प्रशासनले भनेको थियो । सवारी साधनहरु बन्द थिए ।

निषेधाज्ञाबीच सामान्य प्रहरीसमेतको त्यो समूह आउँदा नगरवासीले कोभिड कहरअघिको अवस्थामा सुटिङ टोली आएको महसुस गरे । स्वास्थ्य जाँच गर्ने भए पनि नगरवासीलाई पूर्व जानकारी हुनुपर्ने । नगरवासीलाई स्वास्थ्य जाँचबारे जानकारी नै थिए ।

टोलीले चोकमै कुर्सी राखेर अचानक स्वास्थ्य जाँच गर्न थालेपछि निषेधाज्ञा उल्लंघन गर्दै हिँडेका व्यक्तिहरु आश्चर्यमा परे । तर स्वास्थ्य जाँच न त सुटिङ थियो, न त नगरवासीलाई जानकारी दिइएको पूर्व निर्धारित कार्यक्रम नै । झट्ट हेर्दा यो छड्के सवारी जाँचभन्दा कडा थियो ।

अचानक गरिएको उक्त स्वास्थ्य परीक्षण कार्यक्रम स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना तथा सरोकारवाला संस्थाको उपस्थितिमा कोभिड संक्रमणको अवस्था पत्ता लगाउन गरिएको एन्टिजेन जाँच थियो ।

स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौले भने, ‘निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई चोकमा तत्कालै जानकारी दिएर एन्टिजेन चेक गरिएको हो ।’ प्रमुख गुरौका अनुसार चोकमा एन्टिजेन चेक हुनेबारे पूर्व जानकारी दिइएको थिएन ।

उक्त कार्यक्रममा करिब ९५ हाराहारीमा एन्टिजेन परीक्षण गरिएको थियो । सो जाँचमा कोहीमा पनि संक्रमण भएको पुष्टि भएको थिएन । पछिल्लो समय बागलुङमा कोभिड संक्रमण तीव्र भएपछि निषेधाज्ञामा कडाइ गरिएको थियो ।

स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले कोरोना संक्रमणको वास्तविक अवस्था बुझ्न सो कार्यक्रम आयोजना गरिएको बताए ।

यता, स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीमा बुधबार ४९६ जनामा संक्रमण पुष्टि भएको थियो भने १२ जनाको ज्यान गएको छ । मंगलबार ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

निर्देशनालयले १० भदौसम्म कूल ५ लाख ७४ हजार १ सय ८९ जनाले पहिलो डोज र ४ लाख ९ सय ९५ जनाले पूरा डोज कोभिडविरुद्धको खोप लगाएको जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ