२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमातृशिशु मितेरी अस्पतालमा हप्तैपिच्छे पाठेघरको क्यान्सर जाँच, १ सय बेड क्षमतामा स्तरोन्नती गर्ने लक्ष्य

मातृशिशु मितेरी अस्पतालमा हप्तैपिच्छे पाठेघरको क्यान्सर जाँच, १ सय बेड क्षमतामा स्तरोन्नती गर्ने लक्ष्य


पोखरा—पोखरा–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालले आफ्नै ३ रोपनी जग्गा व्यवस्थापन गरेर भौतिक पूर्वाधार निर्माण गरेको छ । तालिम हल, कर्मचारी आवास भवन, परामर्श कक्ष, अक्सिजन प्लान्ट, कोभिड वार्ड, चमेनागृहलगायत निर्माण भएको छ । गर्भवतीका लागि सुरक्षित प्रतीक्षा गृहको समेत व्यवस्था गरिएको छ ।

टाढा–टाढाबाट आउने गर्भवती यो सेवाबाट लाभान्वित हुनेछन् । अस्पताल स्तरोन्नती भएर अहिले ५० बेड क्षमतामा सञ्चालन भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्कर पौडेलले अस्पताल स्तरोन्नती गरी १ सय बेड क्षमतामा सेवा दिने योजना रहेको बताए ।

नेपाल सरकारले २०७३ सालमा बाटुलेचौर स्वास्थ्य चौकीको स्तरोन्नती र मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) लाई समायोजन गरी मातृशिशु मितेरी अस्पताललाई २५ बेड क्षमताको जिल्लास्तरको अस्पताल बनाएको थियो । पछिल्लो ३ वर्षका अस्पतालले ४८ नयाँ काम गरेको जनाएको छ । महिनामा ४ पटक खोप कार्यक्रम सञ्चालन गर्ने अस्पतालले हरेक महिनाको २, ९, १६ र २४ गते नियमित खोप लगाउने तालिका निर्धारण गरेको छ ।

अस्पतालले प्रत्येक बुधबार पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने गरेको छ भने गर्भवती र सुत्केरी उपचार कक्ष सञ्चालन भइरहेको छ । स्वास्थ्य बिमाअन्तर्गत सेवा, फार्मेसी, ल्याब, एक्सरे र २४ सै घन्टा इमर्जेन्सी सेवा, बच्चा वार्ड सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । यस्तै, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवासमेत दिइरहेको छ ।

मेसु डा. पौडेलकाअनुसार अस्पतालमा बालरोग विशेषज्ञ र महिला रोग विशेषज्ञ १/१ जनाको दरबन्दी रहेको छ ।

अस्पतालका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अस्पतालद्वारा सञ्चालित सेवा सुविधा र गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा स्तरोन्नती गर्नुपर्नेमा जोड दिए ।

गर्भवती तथा सुत्केरीलाई दिने सेवा, स्तन स्याहारसम्बन्धी सेवा गण्डकी प्रदेशमै पहिलो पटक भएको दाबी गरिएको छ । अस्पतालले आर्थिक वर्ष २०७३/७४ मा १ सय ६८ जना, ०७४/७५ मा ४ सय १२ जना, ०७५/७६ मा ५ सय ८८ जना बिरामीले सेवा लिएको जनाएको छ । आव ०७६/७७ मा ५ सय ७४ जनाले सेवा लिए भने ०७७/७८ मा ७ सय ९ जनाले सेवा लिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष उषा बरुवालले जानकारी दिइन् ।

यहाँ मातृृशिशु सेवाका अलावा कोभिड एन्टिजेन परीक्षण, कोभिड वार्ड व्यवस्थापन तथा सञ्चालन गरेको छ । तर, दसैंपछि पनि कोभिड बिरामीको संख्या न्यून नै रहेमा भने कोभिड सेवा हटाइने अस्पतालका मेसु डा. पौडेलले जानकारी दिए । उनले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालयमा मंगलबार वार्षिक समीक्षा पनि भएको थियो । संक्रामक तथा सरुवा रोग अस्पताल प्रदेश मातहत सञ्चालित छ र त्यसमा नै बिरामी थेग्न सक्ने अवस्था रहे कोभिड–१९ का बिरामी अन्य अस्पतालमा नराख्ने कि भन्नेबारेमा सामान्य छलफल भएको थियो । तर, निर्णय भने भएको छैन ।’ अस्पतालमा ५ बेडको आईसीयु सेटअप, अति विपन्न कोष स्थापनाजस्ता महत्वपूर्ण कार्यक्रम अस्पतालले सञ्चालन गरेको अध्यक्ष बरुवालले बताइन् ।

बिरामीहरुलाई गण्डकी प्रदेशमै उत्कृष्ट सेवा दिएको दाबी गरेको अस्पतालले प्राविधिक उपकरण तथा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा भने समस्या भोग्नुपरेको जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ