२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंशका ३५ बिरामी, १ को मृत्यु

मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंशका ३५ बिरामी, १ को मृत्यु


पोखरा – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ कोतथरकी १५ वर्षीया किशोरी प्रविता कार्की गोठमा राखेको लुगा निकाल्न लागेकी थिइन् । उनको दायाँ खुट्टामा सर्पले डस्यो । उनलाई सर्पले डसेपछि झारफुकबाट विष झार्न सकिन्छ भन्ने अन्धविश्वासका कारण तत्काल अस्पताल लगिएन ।

झारफुक त भयो, तर सर्प विष झन् फैलँदै गयो । बालिकाको अवस्था जटिल बन्दै गएपछि बल्ल उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याइयो । मध्यविन्दु अस्पतालले थप उपचारको लागि भरतपुर अस्पताल चितवन रिफर गरेकोमा उनको मृत्यु भएको छ ।

नवलपुरमा पछिल्लो समयमासर्पले डसेका घटना बढेका छन् । चालु आवको पहिलो महिना साउनमा सर्पदंशका १३ जना बिरामी मध्यविन्दु जिल्ला अस्पताल आएका थिए भने भदौमा १६ जना आएको मध्यविन्दु जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाले बताए ।

चालु आवको साउन यता ३५ जना बिरामी आएको उनको भनाइ छ । उनकाअनुसार ८ जनालाई स्नेक एन्टिभेनम प्रयोग गर्नुपरेको थियो ।

सर्पदंशबाट बच्न घर वरपर सफा राख्ने, प्वालहरु पुर्ने, सुत्नुअघि घरभित्र उज्यालो पारेर बेड सफा गर्ने जस्ता सावधानी अपनाउँदा सर्पको डसाइबाट बच्च सकिन्छ । मध्यविन्दुका सुपरिटेन्डेन्ट डा. थापा सर्पले डसिहाले टोकेको खुट्टा सकेसम्म कम चलाउने र टोकेको भागभन्दा माथिपट्टि हल्का रुपमा ब्यान्डेज बाध्ने गर्नु राम्रो हुने बताउँछन् । तर, धामी झाँक्रीमा विश्वास नगर्न र अस्पताल जान ढिला नगर्न उनले सुझाव दिए ।

‘अस्पताल आएका बिरामीमा पोइजनस भइसकेको छ, शरीर प्यारलाइसिस हुने र श्वास फेर्न गाह्रो हुने अवस्था भएको छ भने भरतपुर अस्पतालमा रिफर गर्ने गरिएको छ,’उनले भने। नत्र स्नेक एन्टिभेनम प्रयोग गरिसकेपछि बिरामी निको हुन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ