२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपत्रकार बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार

पत्रकार बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार


पोखरा –  पोखराको युनाइटेड रेफ्रेन्स ल्याबोरेटरी प्रालिद्वारा स्थापित युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोला पुरस्कृत भएका छन् । युआरएलको आठौं वार्षिकोत्सवका अवसरमा बिहीबार उनलाई नगद २० हजार रुपैयाँ र ताम्रपत्रले पुरस्कृत गरिएको हो ।

लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत बास्तोलालाई पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, सदस्यद्वय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी रहेको छनोट समितिले सिफारिस गरेको थियो । उक्त पुरस्कारबाट यसअघि ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध रहेको बताउँदै विभिन्न पक्षका सुझाव मनन गरिने उल्लेख गरिन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापाले आफूले सेवा सुरु गर्दाको समय र अहिलेको समयको तुलना गर्दै स्वास्थ्य क्षेत्रमा उच्चस्तरका प्रविधि भित्रिरहेको सुनाए । प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङले युआरएलले छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले निजी क्षेत्रले भिœयाउने अत्याधुनिक प्रविधिमा भन्सारलगायत करमा छुट दिनुपर्ने बताए । निजी क्षेत्रमा लगानी धेरै हुँदा त्यसैअनुसारको शुल्क निर्धारण हुने गरेको सुनाए । सरकारको भन्दा ३ गुणा बढी सेवा निजी क्षेत्रले दिइरहेको दाबी गरे ।

प्रतिभा छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठले तीन दशकभन्दा बढी पत्रकारितामा क्रियाशील बास्तोला पुरस्कृत हुँदा पत्रकारिता क्षेत्र नै सम्मानित भएको तर्क गरे । श्रेष्ठले स्वास्थ्य बिमामा आबद्ध गरी प्रदेशवासीलाई आर्थिक भार कम हुने गरी काम गर्न र नमुना प्रदेश बनाउन सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले युआरएलले गुणस्तरीय सेवा प्रदान गरेको बताइन् । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले राज्यका मापदण्ड पालनामा जोड दिँदै गुणस्तरीय सेवा प्रवाह र सेवा बिस्तारको प्रतिबद्धता जनाए । कार्यक्रममा युआरएलका निर्देशक सन्दीप अर्याल, अर्थ निर्देशक गणेश कोइराला लगायतले बोलेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ