२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशक्यान्सरका बिरामीलाई पृथ्वी राजमार्गका बसमा देशभर निःशुल्क सेवा

क्यान्सरका बिरामीलाई पृथ्वी राजमार्गका बसमा देशभर निःशुल्क सेवा


पोखरा– क्यान्सरका बिरामीलाई पृथ्वी राजमार्गका बसमा  देशभर निःशुल्क सेवा दिइने भएको छ । अर्बुद रोग निवारण संस्था र पृथ्वी राजमार्ग सञ्चालक कम्पनीबिच क्यान्सर पीडित बिरामी र १ जना बिरामीका सहयोगीलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिका बसमा निःशुल्क सेवा दिनेबारे बिहीबार सम्झौता भएको छ । पोखरामा भएको एक कार्यक्रमबिच अर्बुद रोग निवारण संस्थाका सभापति प्रेमबहादुर भुजेल र पृथ्वी राजमार्गका योगेन्द्र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विगत ३ वर्ष देखि अनौपचारिक हिसाबले अर्बुद रोग निवारण संस्थाको आग्रहमा क्यान्सर बिरामीलाई बस सञ्चालक समितिले निःशुल्क सेवा दिने निर्णय गरेको थियो ।

सम्झौता अनुसार अर्बुद रोग निवारण संस्थाले बिरामी र बिरामीका कुरुवाका लागि परिचय पत्र बनाइदिने छ । सोही परिचय पत्रका आधारमा बस सञ्चालकले सुविधा दिने अर्बुद रोग निवारण संस्थाका सभापति प्रेमबहादुर भुजेलले जानकारी दिए । उनले भने, ‘हामीले क्यान्सरका बिरामी र १ जना उनका सहयोगीलाई परिचयपत्र बनाइदिन्छौँ । त्यो परिचयपत्र ६/६ महिनामा नवीकरण गर्नुपर्छ । दुरुपयोग नहोस् भन्ने हिसाबले नवीकरणको व्यवस्था गरेका हौँ । यसबापत अर्बुद रोग निवारण संस्थाले पृथ्वी बस सञ्चालकलाई कुनै भुक्तानी गर्नुपर्दैन ।’

अर्बुद रोग निवारण संस्थाका आजीवन सदस्यले यात्रा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । अर्बुद रोग निवारण संस्थाले पृथ्वी राजमार्ग बस सञ्चालक समितिमा आबद्ध महिलालाई प्रत्येक २/२ वर्षमा भनिआइए स्क्रीनिङ तथा बिएसइ सेवा दिनेछ ।

क्यान्सर जाँचका लागि काठमाडौं, झापा, भक्तपुर, भरतपुर आउजाउ गर्नुपर्ने हुन्छ, २/२ जनाको यात्रामा थुप्रै खर्च पनि हुन्छ, त्यसका लागि यो सम्झौता गरिएको सभापति भुजेलले बताए । नाटा गण्डकीले पनि २ जना क्यान्सरका बिरामीलाई निःशुल्क यात्रा गराउने सम्झौता २०७७ सालमा नै गरिएको भुजेल बताउँछन् ।

अर्बुद रोग निवारण संस्थाले ३०/३५ जनाको निवेदन परेपछि संस्थामा नै पाठेघरको क्यान्सर जाँच नियमित शिविर सञ्चालन गर्दै आएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वय र क्षेत्रीय अस्पतालका विशेषज्ञ डाक्टरको सहयोगमा जाँच हुने गरेको छ । २०४२ सालमा स्थापित संस्थाले क्यान्सरविरुद्ध सचेतना तथा उपचारमा योगदान गरिरहेको छ । अर्बुद रोग निवारण संस्थाको पहलमा ५/६ हजारले सेवा लिएको सभापति भुजेल बताउँछन् । उनले भने,‘हाम्रो उद्देश्य क्यान्सरका बिरामी पहिचान गर्ने र उपचारमा सघाउने हो । विपन्नहरूलाई त आर्थिक सहयोग पनि गर्ने गरेको छ ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ