२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यमनसुनमा यसरी घरमै तयार गरौं छाला स्याहार सामाग्री

मनसुनमा यसरी घरमै तयार गरौं छाला स्याहार सामाग्री


हाल मनसुनको याम छ । यो बेला बाहिरी वातावरणमा अन्य समयको तुलनामा ‘ह्युमिडिटी’ बढी हुने भएकाले हाम्रो छाला कहिलेकाहीँ एकदमै सुख्खा हुन्छ त कहिले चिल्लो पनि । हामीले मनसुनको सिजनमा अन्य समयभन्दा फरक किसिमले आफ्नो छालाको स्याहार गर्नुपर्ने हुन्छ । जसका निम्ति विभिन्न प्याकहरु बनाएर हामीले आफ्नो छालामा अप्लाई गर्न सक्छौ ।

तर, हाल बढ्दो कोरोना संक्रमणका कारण अधिकांश पार्लरहरु बन्द छन् । कतिपय व्यक्तिहरु पार्लरको पहुँचभन्दा टाढा छन् । तसर्थ, यस्तो समयमा हामीले घरमै छालालाई चमक ल्याउने सामाग्री बनाएर तथा दैनिक जीवनको विभिन्न पक्षमा ध्यान दिएर आफ्नो छालालाई उचित स्याहार प्रदान गर्न सक्छौ । घरमै बसेर छालाको स्याहार कसरी गर्न सकिन्छ? यसबारेमा चर्चा गरौं ।

कसरी गर्ने घरमा छालाको स्याहार?

छाला हाम्रो सौन्दर्यको प्रमुख पक्षमध्ये एक हो । यो हाम्रो बाहिरी अंग र भित्री शारीरिक अंगलाई जोड्ने एक माध्यम पनि हो । मानिसहरु छालालाई आफ्नो सौन्दर्यताको निम्ति मात्रै प्राथमिकता दिने गर्छन् । हुन त सुन्दर बाहिरी आवरण (छाला)ले व्यक्तिको आत्मविश्वासको स्तरमा समेत वृद्धि गर्दछ ।

मानिसहरु छालालाई सौन्दर्यको निम्ति बढी प्राथमिकता दिने गरेको हुनसक्छ । तर, सबैले यो पनि बुझ्नु आवश्यक छ कि छाला र शरीरलाई स्वस्थ राख्नु भनेकै छालालाई सुन्दर स्वरुप प्रदान गराउनु हो । हाम्रो भित्री स्वास्थ्यको ऐना नै हाम्रो छाला हो । हामीले छालालाई उचित टोन दिनको निम्ति घरमै बस्दा पनि निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः

  • उचित मात्रामा पानी वा झोलिलो खाना पिउने/खाने
  • फलफूल तथा मौसमी तरकारीको प्रयोग बढी गर्ने
  • उचित आहार खाने
  • पर्याप्त सुत्ने
  • र, समय–समयमा घरमै बनाएर विभिन्न प्याकहरु छालामा अप्लाई गर्ने ।

कसरी गर्ने घरमै छाला स्याहार गर्ने सामाग्रीको तयारी?

१. फ्रुट फेसवास र टोनरको रुपमा काँक्राको रस वा गुलाब जल

यो समयमा हाम्रो छाला सुख्खा र चिल्लो दुवै प्रकृतिको हुन्छ । तर, छाला चिल्लो भयो भनेर हामीले छालामा साबुनको प्रयोग गर्नु हुँदैन । यसो गर्नाले छाला एकदमै सुख्खा हुन्छ र यसलाई कन्ट्रोल गर्न असहज हुन्छ । तसर्थ यसका लागि हामीले बजारमा उपलब्ध फ्रुट फेसवास घरमै ल्याएर पनि फेसवास गर्न सकिन्छ । फेसवास गरेपछि टोनर गरिहाल्नु पर्दछ ।

यसका लागि उपलब्ध छ भने टोनरकै प्रयोग गर्न सकिन्छ । अन्यथा यसको विकल्पको रुपमा हाल काँक्रोको सिजन भएकाले काँक्रोको रस वा गुलाब जलको पनि प्रयोग गर्न सकिन्छ । छालाबाट चिल्लो निस्किदा पोट्सहरु खुला हुने भएकोले यसले छालामा भएको उक्त पोट्सलाई खुल्न दिदैन । यसका साथै टोनरको रुपमा गरिएको यसको प्रयोगले छालालाई कसिलो बनाउन मद्दत गर्नुका साथै छालामा चमक ल्याउन पनि मद्दत गर्छ ।

२. स्क्रबको रुपमा काँचो दुध र अल्डमोन्डको प्रयोग

यस समयमा हामी अधिकांशको छालाबाट सेतो रङको गुदीको रुपमा ‘ह्वाइट्स हेड्स’ निस्किरहेको हुन्छ । यसका साथै स्क्रबले छालामा भएको मृत कोषिकालाई बाहिर निकाल्न पनि मद्दत गर्ने भएकोले हामीले हप्तामा १ देखि २ पटकसम्म अनिवार्य रुपमा स्क्रब गर्नुपर्ने हुन्छ । यसका निम्ति अल्डमोन्डको धुलोमा काँचो दुध मिश्रण गरी औंलाले छालामा गोलो–गोलो आकार वा तलमाथि गर्दै करिब ३ देखि ४ मिनेटसम्म मसाज गर्न सकिन्छ ।

३. फेस प्याकको रुपमा अण्डा, नुन–पानी र दहिको मिश्रण
अण्डाको सेतो भागमा नुन–पानी र दहिलाई मिश्रण गरेर पनि घरमै प्याकको तयारी गर्न सकिन्छ । फेसप्याक लगाउँदा हामीले चिउँडोदेखि माथि तान्दै लगाउनु पर्छ । यसरी घरमै तयार पारिएको प्याकले हाम्रो छालामा चमक ल्याएर छालालाई उचित टोन प्रदान गर्न मद्दत गर्छ । यो विधि मनसुन याममा जुनसुकै व्यक्तिले पनि अपनाउन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ