२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारअब बल कोरोनाको कोर्टमा छ

अब बल कोरोनाको कोर्टमा छ


सरकारले के गर्‍यो ?

कोरोनाको कहर थाम्न सरकारसँग जे जति क्षमता थियो, त्यो सबै गर्‍यो । लकडाउन गर्‍यो, सीमा नाका बन्द गर्‍यो, यातायात र उडान बन्द गर्‍यो, गरिरा’छ । लकडाउन नमान्नेलाई पिट्यो, थुन्यो, सम्झायो । हात धुन, मास्क लगाउन, दूरी कायम गर्न फोनको रिङटोनबाट सिकायो । आफूले सकेको जति राहत बाँड्यो । जसोतसो क्वारेन्टाइन बनायो, आइसोलेसनको व्यवस्था गर्‍यो ।

क्षमताले भ्याएसम्म पिसिआर जाँच बढायो । विवादास्पद आरडिटी किट पनि सबै सक्कायो । भएजति पीपीई अस्पतालमै बाँडेर सकायो । स्वास्थ्य सामाग्री तुरुन्त ल्याउने आशमा नेपाली सेनालाई नै ठेक्का दियो । सरकारी प्रणालीमा स्वास्थ्यकर्मी कम भएको महसुस गर्‍यो र करारमा स्वास्थ्यकर्मी माग्यो ।

निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारीमा स्वयंमसेवा गर्न पनि बोलायो । स्वास्थ्यकर्मीलाई हाते पुस्तिका बनाएर बाँड्नेदेखि प्राइभेट अस्पतालमा लगेर तालिम समेत दियो । ठाउँ—ठाउँमा कोरोना विशेष अस्थायी अस्पताल बनायो । कोरोना उपचार गर्न भनेर मिल्ने जति सरकारी अस्पताललाई डेडिकेटेड, स्याटेलाइट र हब अस्पताल भनेर पनि तोक्यो ।

कन्ट्याक ट्रेसिङ र स्वाब संकलन बढाउन जानेको जति सबै वुद्धि लगायो । अस्पतालमा आइसोलेसन वेड, आईसीयु वेड, भेन्टिलेटर आफ्नो क्षमताले भ्याएसम्म थप्यो । तर, सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका यी सबै कामहरुबाट धेरै जनता खुसी छैनन् । सबै जनता खुसी हुने भन्ने कुरा प्रजातान्त्रिक मुलुकमा सम्भव पनि हुँदैन् ।

जनताले के गरे ?

जनताले सक्दो लकडाउन पालना गरे । केहीलाई कहिलेकाहिँ झ्याउ लाग्यो र बाहिर निस्के । केहीलाई कहिलेकाहिँ रमाइलो लाग्यो र बाहिर निस्के । केहीलाई कहिलेकाही अर्जेन्ट काम पर्‍यो र बाहिर निस्के । तर, धेरैभन्दा धेरै मान्छेले सकेसम्म इमान्दारिताका साथ लकडाउन पालना गरे । हात धोए, मास्क लगाए । तर, महामारीमा एकै जनाको असावधानीले गर्दा पनि पूरै समाज सकिन सक्छ भन्ने हेक्का लिएनन् ।

कोरोनाले के गर्ला ?

हाम्रो र कोरोना बीचको यो खेलमा अब बल कोरोनाको कोर्टमा छ । सरकारको सक्दो तयारी पनि देखियो । जनताको सक्दो सावधानी पनि देखियो । कोरोनाकै उपचार गर्न तेस्रो तहका अस्पतालमा समेत कोरोनाका बिरामी आएपछि सिल गर्नुपर्ने अवस्था छ ।

केही जनता जति गर्दा पनि घरमा नबस्ने, क्वारेन्टाइनमा नबस्ने गरेको देखिन्छ । अझ संक्रमण भएका व्यक्ति अस्पतालबाटै भागेर समाजमा घुलमित हुन गएको समेत भेटियो । अब नेपाललाई जोगाउने भनेको सरकारी तयारी र जनताको सावधानीले भन्दा पनि कोरोनाको उदारताले मात्र सम्भव छ ।

तर, यक्ष प्रश्न यो छ कि चीन, अमेरिका, युरोपमा कहर मच्चाएको कोरोनाले के नेपालमा उदारता देखाउँला ? भन्छन् नि, ‘होप फर द वेस्ट एण्ड प्रिपेर फर द वोर्स्ट ’ । सबै राम्रो हुनेछ भनी आशा गरौं । सबै खत्तम हुँदैछ भन्ने जस्तो गरी तयारी गरौं ।

(डा. पाण्डेसँगको कुराकानीमा आधारित)


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कोरोना, #दीपेन्द्र पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ