२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोना बढ्दैं, सुर्खेतमा हिजो रातिदेखि निषेधाज्ञा

कर्णालीमा कोरोना बढ्दैं, सुर्खेतमा हिजो रातिदेखि निषेधाज्ञा


सुर्खेत-कोरोना भाइरसको दोस्रो लहरका कारण कर्णाली प्रदेशमा संक्रमण बढ्दैं गएको छ । प्रदेश राजधानी समेत रहेको सुर्खेतको

वीरेन्द्रनगरको अवस्था झन् दयनीय छ । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगर कोरोना हटस्पट बन्दै गएको हो ।मंगलबारसम्मको तथ्यांकअनुसार कर्णाली प्रदेशमा होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा बस्ने कुल सक्रिय संक्रमितको संख्या ७ सय ७ पुगेको छ । जसमा सुर्खेतका कुल ४ सय ८६ संक्रमितमध्ये वीरेन्द्रनगरका मात्रै ४ सय ५५ जना रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कर्णालीका नयाँ २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा कोरोना परीक्षण गरिएका कुल संख्याको आधारमा ८० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्शन डा.केएन पौडेलले बताए । उनले भने, ‘कोरोना भाइरसको दोस्रो लहरका कारण कर्णाली प्रदेशको अवस्था भयावह बन्ने खतरा छ । दिनप्रतिदिन कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि वीरेन्द्रनगर थप संकटमा जाने देखिन्छ ।’

सुर्खेतमा भारतबाट फर्केकादेखि स्थानीयवासीसम्म कोरोना संक्रमणबाट जोगिन सकेका छैनन् । कोरोना संकट व्यवस्थापनका लागि नागरिकहरुले स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले बताए ।

कोरोना संक्रमणको दर यही रप्तारमा बढेमा अस्पतालले समेत बिरामी थेग्न नसक्ने गरी भयावह अवस्था सिर्जना हुने उनको भनाइ छ ।

वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि मंंगलबार रातिदेखि लागु हुने गरी सुर्खेतमा एक साताको लागि निषेधाज्ञा आदेश समेत जारी गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निषेधाज्ञा आदेश पालना गर्न सबैलाई अनुरोध गर्दै उल्लंघन गरे कारवाही गरिने बताए ।

कोरोना संकट व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारले कोभिड–१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिडमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकटमा हेलिकप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ