२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा एक महिनाको करिबमा संक्रमितको संख्या १३० पुग्यो

जुम्लामा एक महिनाको करिबमा संक्रमितको संख्या १३० पुग्यो


जुम्ला – जुम्लामा वैशाख १ गतेदेखि हालसम्म १ सय ३० जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गर्दा १ सय ३० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार ४ सय ७२ एन्टिजेन जाँच गरेकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको थियो । २ सय ३३ जनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गरेकोमा ९० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

अहिले १९ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन बेडमा राखेर उपचार भइरहेको छ । कोरोनो पोजेटिभ देखिएका तर लक्षण नदेखिएका संक्रमित होमआइसोलेसनमा बसेर उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको टीम एन्टिजेन जाँचको लागि गाउँमा खटिँदै आएको छ । स्थानीय तहले एन्टिजेन जाँचका लागि आग्रह गरेको सबै ठाउँमा पुगेर चेकजाँच गरिरहेको उनले बताए । उनले भने, ‘कोरोना चेकजाँजको लागि खबर आउँछ । स्वास्थ्य सेवा कार्यालयको टोली परिचालन हुन्छ।’

अहिलेसम्म जिल्लाको पातारासी, तिला, गुठिचौर गाउँपालिकामा स्वास्थ्यको टोली पुगेर कोरोना परीक्षण गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका बिरामी आफै स्वास्थ्य सेवा कार्यालयमा पुगे कोरोना जाँच गराउँदै आएका छन् ।

प्रमुख सापकोटाले भने, ‘अब कोरोनाको परीक्षणका लागि स्थानीय तहले जिम्मेवारी रुपमा प्रस्तुत हुन जरुरी छ ।’ पालिकास्तरमा आइसोलेसन बेड तयार गरेर धमाधम एन्टिजेन र पिसिआर गर्दै संक्रमितको उपचार गर्नु पर्ने अवस्था छ । गाउँ सहर सबै क्षेत्रमा कोरोना संक्रमणको त्रास तीव्र छ ।

सदरमुकाम क्षेत्रमा लकडाउन भएपनि ग्रामिण क्षेत्रमा लकडाउनको पालना हुन सकेको छैन । गाउँमा भेला हुने, विहेवारी, भोजभतेर गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ